गोरखनाथ किराना स्टोर्सलाई तीन लाख जरिवाना गरेकोप्रति चितवनका किराना व्यवसायी आन्दोलित, आज र भोलि पसल बन्द गर्ने

सफल खबर संवाददाता

आइतबार, ०२ माघ २०७८, १२ : २५
गोरखनाथ किराना स्टोर्सलाई तीन लाख जरिवाना गरेकोप्रति चितवनका किराना व्यवसायी आन्दोलित, आज र भोलि पसल बन्द गर्ने

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले एक व्यवसायीलाई तीन लाख जरिवाना गरेको भन्दै किराना व्यवसायी संघ आन्दोलित भएका छन् । संघले एक विज्ञप्ति जारी गर्दै उक्त जरिवाना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अनुगमन समिति संयोजक समेत रहेका चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माको नेतृत्वको टोलीले नारायणगढको पुतलीबजार स्थित गोरखनाथ किराना स्टोर्सलाई तीन लाख जरिवाना गरेको थियो । बिभिन्न बाहानामा पहिलो पटक नै आफुखुसी ठूलो रकम जरिवाना गरिएको भन्दै संघ आन्दोलित भएको हो ।

संघले प्रशासनले गरेको उक्त जरिवानाको विरोधमा आज र भोलि  सम्पूर्ण किराना पसल बन्दको घोषणा गरेको छ । “जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वले संघमा आवद्ध व्यवसायीलाई अनुगमनको क्रममा विभिन्न बहानामा पहिलोपटकमै ३ लाखसम्म जरिवाना तोकिएको र तोकिएको रकम भोलिपल्ट बिहान नै बुझाउनुपर्ने र नबुझाए १२ बजे प्रहरीद्धारा पक्राउ गरी सो जरिवाना तिराउने चोरी तथा ज्यानमारा जस्तो धम्किपूर्ण भाषा प्रति घोर आपत्ति जनाउदै माघ २ र ३ गते संस्थामा आवद्ध व्यवसायीहरु विरोध स्वरुप पसल बन्द गर्न बाध्य भएको जानकारी गराउँदछौं,” विज्ञप्तिमा भनिएको छ ।

संघले उपभोग्य मिति भएको आयातित बस्तुहरुको मूल्य नभएमा आयकर्ता तथा उत्पादकलाई जरिवाना लगाउनुपर्ने, किराना व्यवसाया कम नाफा तथा सेवामूलक भएकोले प्रशासनले हेर्ने दृष्टिकोण बदल्नुपर्ने, अनुगमनमा उद्योग वाणिज्य संघ र किराना व्यवसायी संघलाई समेत समावेश गराउनुपर्ने तथा उपभोग्य बस्तुमा उपभोग मिति भएको तर मुल्य नभएको बस्तुलाई सम्बन्धित उद्योगलाई नै मिति राख्ने समय दिनुपर्ने र त्यस्ता बस्तु जफत गरि नष्ट गर्नुपर्ने माग पनि राखेको छ ।

संघका अध्यक्ष रबिन्द्र श्रेष्ठले पहिलो पटकमा नै ठूलो रकम जरिवाना तोकेर व्यवसायीको ढाड सेक्ने काम भएको बताए । प्रशासनले उक्त पसल सञ्चालकले लामो समयदेखि सामान खरिद गर्दा बिल नदिने गरेको र दिनै परे सादा कागजमा दिने गरेको भन्दै तीन लाख जरिवाना तोकेको थियो । उक्त जरिवाना रकम आज बिहान ११ बजेसम्म भर्न पन प्रशासनले निर्देशन दिएको थियो । ११ बजेसम्म नबुझाए पक्राउ गरेर जरिवाना तिराउने प्रशासनले प्रहरीलाई निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस