‘फेरि लकडाउन अर्थतन्त्रले थेग्दैन’

पत्रपत्रिकाबाट

मंगलबार, २७ पुस २०७८, ०७ : ३६
‘फेरि लकडाउन अर्थतन्त्रले थेग्दैन’

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोभिड महामारीको नयाँ भेरियन्टले चिन्ता देखिएको भन्दै अब लकडाउनको बाटो रोजे अर्थतन्त्रले थेग्न नसक्ने बताएका छन्। अर्थमन्त्री शर्माले कोभिडका कारण अर्थतन्त्रमा चुनौती देखापरेको तर, यसले ठूलो समस्या सिर्जना गराइनसकेको दाबी गरे।

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को सोमबार भएको दोस्रो वार्षिकोत्सवमा बोल्दै शर्माले अर्थतन्त्रमा अहिले केही चाप र दबाब देखिए पनि खराब अवस्थामा नपुगेको स्पष्ट पारे। बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावको समस्या सरकारको पहलकदमीकै कारण अब समाधान हुने दिशामा रहेको मन्त्री शर्माको भनाइ थियो। उनले आगामी माघदेखि तरलता अभावको समस्या क्रमशः कम हुँदै जाने बताए।

‘कोभिड महामारीको कारण दुई वर्षसम्म अर्थतन्त्र निसास्सिएर बसेको थियो, केही सहज भएपछि उद्योगी, व्यवसायीले उत्साहित भएर लगानी गरे, नयाँ व्यवसाय गर्न चाहने व्यक्तिले पनि लगानी बढाए। यसैकारण कर्जाको माग उच्च भयो, आयात पनि बढ्यो, यसैकारण तरलता अभावको अवस्था आएको हो,’ अर्थमन्त्री शर्माले भने, ‘तरलता अभावको समस्या समाधान गर्न चालिएका कदमका कारण आगामी माघदेखि समस्या समाधान हुनेछ।’

उनले नेपालको अर्थतन्त्रमा बैंकिङ तथा वित्तीय क्षेत्रको योगदान १८ देखि २० प्रतिशत हाराहारी रहेको भन्दै यो क्षेत्रका समस्या समाधानमा सरकार तत्पर रहेको बताए। अर्थमन्त्री शर्माले उत्पादनशील क्षेत्रमा लगानी बढाएर आत्मनिर्भर अर्थतन्त्र बनाउने सरकारको योजना रहेको जानकारी दिए। उनले संकटको बेलामा एकले अर्कोलाई सहयोग गर्ने संस्कृतिलाई निरन्तरता दिनुपर्ने भन्दै यस्तो बेलामा कसैलाई पनि बढी नाफा नखोज्न सुझाव दिए।

अर्थमन्त्री शर्माले पुँजीगत खर्च बढाउन सरकारले प्रयास गरिरहेको भन्दै संरचनागत समस्या यथावत रहेको जानकारी दिए। चालु आर्थिक वर्षको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्राप्त गर्न प्रयास जारी राखेको भन्दै अर्थमन्त्री शर्माले बेमौसमी वर्षाको कारण धानबाली र पूर्वाधार संरचनामा क्षति पुगेका कारण लक्ष्यमा धक्का लागेको बताए। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस