ललिता निवास प्रकरण

सीआईबीले जारी गरेको पक्राउ पुर्जीमा १० जना भीआईपीहरू को को परे ?

सफल खबर संवाददाता

विहीबार, २२ पुस २०७८, १० : ००
सीआईबीले जारी गरेको पक्राउ पुर्जीमा १० जना भीआईपीहरू को को परे ?

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बालुवाटारस्थित ललिता निवास जग्गा घोटाला प्रकरणमा  बुधबारसम्म ३ सयभन्दा बढीमाथि पक्राउ पुर्जी जारी गरेको छ । उक्त जग्गा घोटाला प्रकरणमा सरकारी कागजात किर्ते प्रकरणमा मुछिएका ३ सय जनाभन्दा बढीमाथि काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो । 

सरकारी जग्गा जफत फिर्ताको नाममा व्यक्तिको नाममा नामसारी गरेर १३७ रोपनीभन्दा बढी जग्गा गायब पारिएको सम्बन्धमा यसअघि नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिसकेको थियो । अख्तियारले दोषीलाई कारबाही गर्दै जग्गा जफ्त गरी सरकारको नाममा ल्याउने प्रयोजनका लागि उक्त मुद्दा दायर गरेको थियो । 

विशेष अदालतमा उक्त मुद्दा चलिरहँदा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पनि ललिता निवास प्रकरणसँग जोडिएर करिब ३ सय जनाभन्दा बढीमाथि अनुसन्धान गरिरहेको छ । २०२३ सालदेखि सरकारी जग्गामा भएको गडबड र घोटालाको फेहरिस्त खोज्दै ललिता निवास प्रकरणमा जोडिएका ३ सय जनाभन्दा बढीमाथि अनुसन्धान गरेको थियो । सोही अनुसन्धानका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेकाबाहेक पनि अन्य व्यक्तिहरुलाई सरकारी कागजात किर्ते प्रकरणमा मुद्दा दायर गर्ने तयारी गरेको हो । 

काठमाडौँ जिल्ला अदालत स्रोतका अनुसार सीआईबीले हाल पक्राउ पुर्जी लिएका व्यक्तिहरूमा ७ जना सरकारी संयन्त्रमा रहेर काम गरिसकेका भीआईपी तथा तीनजना व्यापारिक घरानाका भीआईपीहरू समेत छन् । जिल्ला अदालत स्रोतका अनुसार पक्राउ पुर्जी दिइएकाहरूमा नेपाली काँग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार, अन्य पूर्व मन्त्रीहरू चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ र छविराज पन्त रहेका छन् ।

त्यसै गरी अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात र पूर्व सचिव दिनेशहरि अधिकारीमाथि पनि पक्राउ पुर्जी जारी भएको अदालत स्रोतले जनाएको छ । त्यसै गरी ललिता निवास जग्गा प्रकरणका प्रमुख आरोपी मीन बहादुर गुरुङ, सुधीरकुमार शाह, आफ्नो जग्गा हो भन्दै दाबी गर्ने व्यापारीहरू श्रवणकुमार गोयल र कैलाश चन्द्र गोयलमाथि पनि पक्राउ पुर्जी जारी भएको छ । गोयल दाजुभाइ डीएल डेभलपर्सका मालिकहरू हुन् । डेभलपर्सको नाममा ललिता निवासभित्र करिब १६ रोपनी जग्गा रहेको छ ।  

सरकारी कागजात किर्तेमा सीआईबीको अनुसन्धान 

यसअघि आफ्नो पदको दुरुपयोग गरेर लाभ लिने वा लाभ नलिए पनि पदको दुरुपयोग गर्ने सरकारी कर्मचारी, सरकारी जग्गा व्यक्तिको नाममा बनाउन भूमिका खेल्ने तीनजना मुख्य अभियुक्त र जग्गा जफत प्रयोजनका लागि हालका जग्गाधनी समेतलाई विपक्षी बनाएर अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । तर अख्तियारले दायर गरेको मुद्दासँगै सीआईबीले सरकारी कागजात किर्ते प्रकरणमा अनुसन्धान गरिरहेको थियो । 

प्रतिक्रिया दिनुहोस