पेट्रोलियम पदार्थको गुणस्तरको विषयमा निगमलाई दोष लगाउन मिल्दैन : कार्यकारी निर्देशक पौडेल

सफल खबर संवाददाता

सोमबार, १९ पुस २०७८, १४ : ००
पेट्रोलियम पदार्थको गुणस्तरको विषयमा निगमलाई दोष लगाउन मिल्दैन : कार्यकारी निर्देशक पौडेल

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोलियम पदार्थको गुणस्तरको विषयमा निगमलाई दोष लगाउन नमिल्ने बताएका छन ।

कार्यकारी निर्देशक पौडेलले पेट्रोलियम पदार्थको गुणस्तरमा निगमले सुक्ष्म अध्ययन र गुणस्तरको जाँच गरिरहेको बताए। पेट्रोल भारतबाट ल्याइने र बिसाउने बाटा धेरै रहेकाले नेपालमा पाइपलाइनबाट पेट्रोल आइसकेपछि गुणस्तरको सम्पूर्ण समस्या समाधान हुने उनको भनाइ छ ।

कार्यकारी निर्देशक पौडेलले भने, ‘आजको दिनमा क्वालिटीको विषयमा निगम सुतेको पनि छैन, यो कस्तो हो भने निगमको अहिलेको मान्यता भनेको के हो भने, नो न्यूज इज गूड न्यूज, कुनै पनि समाचार नै नआओस्, त्यो भनेको राम्रो हो । घरमा बुबा बिरामी हुनुभयो भने त पक्कै पनि समाचार आइहाल्छ नि बिरामी हुनुभयो भनेर केही समाचार आएन भने बुबा पनि सन्चो हुनुहुन्छ भन्ने मान्यता हो ।’

निगमका अध्यक्ष तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले आयल निगम नाफा कमाउन स्थापित संस्था नभएको बताए ।आम नागरिकको सहजकर्ताको रूपमा रहेको निगमले २०७० सालपछि स्वचालित मूल्य दरको नियम बनाए पनि पूर्णरूपमा कार्यान्वयन हुन नसकेको भट्टराईले बताए । पेट्रोलियम पदार्थको मूल्य घट्दा वा बढ्दा अर्थतन्त्रका अन्य आयामहरूमा पनि ठूलो असर पर्ने उनको भनाइ छ ।सचिव भट्टराईले मूल्यको विषयमा छलफल गरेर आयल निगममा भएका कमजोरीलाई अब दोहोरिन नदिने दाबीसमेत गरे ।

 

प्रतिक्रिया दिनुहोस