इन्धन र ग्यासको खपत घटाउन उपभोक्तालाई निगमको अपिल

सफल खबर संवाददाता

बुधबार, २७ फागुन २०८२, १९ : ०७
इन्धन र ग्यासको खपत घटाउन उपभोक्तालाई निगमको अपिल

काठमाडौं । नेपाल आयल निगमले विश्व बजार र विशेषगरी मध्यपूर्वमा देखिएको असहज परिस्थितिका कारण पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्तिमा भविष्यमा पर्न सक्ने प्रभावलाई मध्यनजर गर्दै उपभोक्तालाई मितव्ययी बन्न आग्रह गरेको छ।

बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै निगमले हालसम्म नेपालमा आपूर्तिको कुनै समस्या नभए तापनि विश्वका अन्य मुलुकहरूले सुरक्षात्मक उपाय अपनाउन थालेकाले नेपालमा पनि खपत कम गर्ने तर्फ लाग्नुपर्ने बताएको छ। पूर्ण रूपमा आयातमा निर्भर हुनुपर्ने बाध्यताका कारण इन्धन बचतका लागि निगमले विभिन्न ६ बुँदे सुझाव समेत प्रस्तुत गरेको छ।

निगमले उपभोक्ताहरूलाई आवश्यक परिमाणमा मात्र इन्धन र ग्यास खरिद गर्न तथा अनावश्यक भण्डारण नगर्न अनुरोध गरेको छ। विज्ञप्तिमा भनिएको छ, 'मासिक एक सिलिन्डर खपत हुने अवस्थामा थप सिलिन्डर नभर्नुहोस् र ग्यासको सट्टा बिजुली (इन्डक्सन लगायत) को प्रयोग बढाउनुहोस्।'

यस्तै, सवारी साधनको हकमा सम्भव भएसम्म 'राइड सेयरिङ'को व्यवस्था मिलाउन र विद्युत उपलब्ध भएको ठाउँमा अनावश्यक रूपमा जेनेरेटर नचलाउन समेत निगमले आह्वान गरेको छ।

औद्योगिक क्षेत्रमा पनि पेट्रोलियम पदार्थ र ग्यासको खपत कम गर्न आग्रह गर्दै निगमले हालसम्म आयात र बिक्री वितरण नियमित रहेको स्पष्ट पारेको छ। तर, विश्व बजारमा पर्ने प्रभावबाट नेपाल अछुतो रहन नसक्ने सम्भावनालाई दृष्टिगत गर्दै पूर्वसतर्कता अपनाउनु अनिवार्य भएको निगमको ठहर छ।

निगमको निर्देशनविपरीत कसैले अनावश्यक रूपमा ग्यास सिलिन्डर होल्डिङ गरेको, निर्धारित मूल्यभन्दा बढीमा इन्धन वा ग्यास बिक्री गरेको वा नयाँ सिलिन्डरको जथाभाबी बजारीकरण गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी समेत प्रवक्ताद्वारा जारी विज्ञप्तिमा दिइएको छ।

प्रतिक्रिया दिनुहोस