विद्युत् कम भएर बत्ती गएको होइन, वितरण प्रणालीले माग धान्न नसकेर गएको हो : कुलमान घिसिङ

सफल खबर संवाददाता

शुक्रबार, १६ पुस २०७८, १४ : ३८
विद्युत् कम भएर बत्ती गएको होइन, वितरण प्रणालीले माग धान्न नसकेर गएको हो : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतको खपत बढेकोले ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या भएको बताएका छन ।शुक्रवार प्रधिकरणमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी निर्देशक घिसिङले विद्युतको खपत बढेकोले ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या भएको र आजबाट यो समस्या समाधान हुने बताएका हुन । उनले विद्युत सप्लाई नपुगेर बत्ती जाने समस्या नभएको स्पष्ट पार्दै जति डिमाण्ड आए पनि सप्लाई गर्ने स्थितीमा रहेको बताए । उनले काठमाडौं उपत्यकामा अब ९ वटा सबस्टेशन थपिँदै भएकोले उक्त सबस्टेशन बनिसकेपछि दीर्घकालीन रुपमा उपत्यकामा २ हजार मेगावाटको विद्युत सप्लाई गर्न सक्ने बताए । प्रमुख कार्यकारी निर्देशक घिसिङले केही ट्रान्सफर्मरहरु लोडअनुसार फेरिरहेको र केही फिडरहरुमा आगलागी भएको कारणले यी समस्या आइरहेको बताए ।

प्रमुख कार्यकारी निर्देशक घिसिङले भने, ‘विगत ३÷४ दिनदेखि विद्युत आपूर्तिमा केही समस्याहरु देखियो भन्ने जनगुनासोहरु आयो । यो समस्या देशभित्र सबैतिर भएको समस्या होइन । काठमाडौंमा मात्रै हो । यो सप्लाईको कारणले भएको समस्या होइन । सप्लाई नपुगेको हुनाले हामीले आपूर्ति नभएको पनि होइन । काठमाडौंका सबै ठाउँमा यो समस्या आएको पनि होइन । केही ठाउँहरुमा मात्र समस्या भएको हो । बास्तवमा हाम्रो विद्युतको बेलुकाको पिक लोड अहिले करिव १७ सय मेगावाट र बिहानको करिव साढे १५ सयदेखि १६ सय मेगावाट पिक लोड आइरहेको छ । त्यसमा हामीले सप्लाई गर्न सकिरहेका नै छौँ । अपर तामाकोशी आइसकेपछि बिहान र बेलुकाको पिकलाई सहज भएको छ । काठमाडौंमा जाडो बढेलगत्तै विद्युतको खपत बढ्नु स्वभाविक हो । विगत वर्षभन्दा अहिले ८० देखि १०० मेगावाट काठमाडौंको लोड बढेको छ । पानी परेपछि ठाउँ ठाउँमा हाम्रो लोडहरु अनएक्सपेक्टेड रुपले बढ्यो । त्यसले गर्दा सिस्टममा सब्स्टेशनबाट फिडरहरु निस्किन्छ, काठमाडौं भित्र धेरै सब्स्टेशनहरु छन् । जसले काठमाडौं भित्रको लोडलाई सप्लाई गरिरहेको छ । सब्स्टेशनहरुबाट निस्केको धेरै फिडरहरुमध्ये, त्यसमा पनि धेरै ट्रान्सफर्मरहरु हुन्छन्, काठमाडौं उपत्यकामा मात्रै करिव ३७ सय ट्रान्सफर्मरहरु छन् । त्यसबाट हाम्रो आ उपभोक्तलाई सप्लाई हुन्छ । यदि फिडरमा नै समस्या आएको छ भने १०÷२० वटा ट्रान्सफर्मरहरुमा समस्या आउने हुन्छ । अहिलेको मेजर समस्या वितरण ट्रान्सफर्मरहरु ओभरलोड भएको हो । लोडअनुसार हामीले ट्रान्सफर्मरहरु फेर्ने काम गरिरहेका छौँ । केही फिडरहरुमा पनि आगलागी भयो । केही स्थानमा भने ट्रान्सफर्मरहरु पछि पनि केवलहरु घरमा जान्छ, त्यसमा आगलागी भएकोले फेर्दा समस्या आएको हो ।’

प्रमुख कार्यकारी निर्देशक घिसिङले आजबाट उपत्यकामा ट्रान्सफर्मरहरु परिवर्तन गरिसक्ने भएकोले विद्युत जाने समस्या नहुने बताए । उनले केही स्थानमा त्यहाँका बासिन्दाहरुले सबस्टेशन बनाउन नदिएकोले पनि समस्या आउने गरेको भन्दै स्थानीयहरुले सब्स्टेशन बनाउन दिन आग्रह गरे । 

प्रतिक्रिया दिनुहोस