अमेरिका र इयुद्वारा लिथुआनियाविरुद्ध चीनको जबरजस्तीको बारेमा चासो

एजेन्सी

विहीबार, ०८ पुस २०७८, १३ : ४०
अमेरिका र इयुद्वारा लिथुआनियाविरुद्ध चीनको जबरजस्तीको बारेमा चासो

वासिङ्टन । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले विदेश मामिलाका लागि युरोपेली संघका उच्च प्रतिनिधि जोसेप बोरेलसँग टेलिफोन वार्ता गर्दै लिथुनिया विरुद्ध चीनको बढ्दो राजनीतिक र आर्थिक दबाबको बारेमा साझा चिन्ता व्यक्त गरेका छन् । 

विज्ञप्ति जारी गर्दै अमेरिकी विदेश विभागका प्रवक्ता नेड प्राइसले ब्लिन्केन र बोरेलले चीनको जबरजस्ती व्यवहारको सामना गर्दै लिथुआनियासँग इयू र अमेरिकाको निरन्तर ऐक्यबद्धतालाई जोड दिएको जनाएका छन् ।  सो अवसरमा ब्लिन्केन र बोरेलले संयुक्त राज्य अमेरिका-ईयु साझेदारीलाई सुदृढ गर्न र साझा चुनौतीहरूको सामना गर्न सँगै काम गर्ने आफ्नो निरन्तर प्रतिबद्धता पुष्टि गरेका छन् । 

उनीहरूले युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई समर्थन गर्न समन्वयात्मक कार्यको आवश्यकतामा जोड दिदै युक्रेन विरुद्ध कुनै पनि रूसी सैन्य आक्रमण गरेमा रूसी संघको लागि ठूलो मूल्य चुकाउँनु पर्नेमा जोड दिइएको छ ।  लिथुआनियाको विरूद्ध जनवादी गणतन्त्र चीनका कदमले अमेरिका र युरोपेली कम्पनीहरूलाई असर गरिरहेको छ। "उहाँहरूले चीनको जबरजस्ती व्यवहारको सामना गर्दै लिथुआनियासँग निरन्तर ऐक्यबद्धतालाई जोड दिदै आर्थिक पक्षलाई बलियो बनाउन सँगै काम गर्न पनि प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।" प्रवक्ताले भने ।

लिथुआनिया र चीन बीचको विवाद यस वर्षको शुरुमा लिथुआनिया पूर्वी युरोपको "१७+१" ब्लकबाट बाहिरिएपछि भएको हो । त्यसपछि लिथुआनियाले ताइवानसँग कूटनीतिक सम्बन्ध बढाएको थियो र  ताइवानको प्रतिनिधि कार्यालयलाई अनुमति दिने एक मात्र युरोपेली देश बन्यो। फलस्वरूप गत अगस्टमा चीनले भिल्नियसबाट आफ्नो राजदूत फिर्ता बोलायो त्यस लगत्तै प्रतिक्रियास्वरूप लिथुआनियाले पनि सेप्टेम्बरमा  सोही कदम चाल्यो। -एएनआई