विवेकशील साझा पार्टीले गर्‍यो संयोजक मिलन पाण्डेलाई निष्कासन (पत्रसहित)

सफल खबर संवाददाता

मंगलबार, ०६ पुस २०७८, १४ : ५०
विवेकशील साझा पार्टीले गर्‍यो संयोजक मिलन पाण्डेलाई निष्कासन (पत्रसहित)

काठमाडौं । विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई निष्कासन गरेको छ । मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीको सदस्य समेत नरहने गरी पाण्डेलाई निष्कासन गर्ने निर्णय गरेको हो ।

विवेकशील साझाले पार्टीलाई लेखेको पत्रमा भनिएको छ, ‘तपाईंले प्रयोग गर्दै आउनुभएको पार्टीको नाम, लेटरहेड, छाप, चुनाव चिह्न तथा पार्टीसँग सम्बन्धित कुनै पनि सामग्री आजैका मितिदेखि प्रयोग नगर्न र गरेमा प्रचलित कानुन बमोजिम कारबाही अघि बढाइने जानकारी पनि गराइन्छ ।’

विवेकशील साझामा अध्यक्ष रवीन्द्र मिश्र र संयोजक पाण्डेबीच राजनीतिक कार्यदिशालाई लिएर चर्को विवाद भएको थियो । मिश्रले संघीयता खारेज गर्ने र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्ने प्रस्ताव ल्याएपछि पाण्डेले विरोध गरेका थिए ।

विवाद चलिरहेका बेला मिश्र पक्षले केन्द्रीय समितिको भर्चुअल बैठक गर्दै संयोजकको अधिकार खोसेर अध्यक्षलाई बलियो बनाउने गरी विधान संशोधन गर्‍यो । साथै संघीयता खारेज गर्ने र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्ने प्रस्ताव पास गर्‍यो ।

मिश्र पक्षको निर्णयलाई निर्वाचन आयोगले मान्यता दिएपछि पाण्डे पक्ष अठ्यारोमा परेको थियो । यद्यपि पाण्डे पक्षले समानान्तर गतिविधि जारी राख्यो ।पार्टी विधान र केन्द्रीय समितिका निर्णयहरू विपरीत गतिविधि गरेको तथा केन्द्रीय समितिको बैठकमा निरन्तर अनुपस्थित भएको भन्दै विवेकशील साझाले २८ मंसिरमा पाण्डेलाई स्पष्टीकरण सोधेको थियो ।

४ पुससम्म जवाफ दिन भनिएकामा पाण्डेले एक दिन ढिला गरी दिएको स्पष्टीकरणमा तथ्यपरक र चित्तबुझ्दो जवाफ नआएको विवेकशील साझाले बताएको छ । पार्टीका निर्णय र नेतृत्वप्रति अनर्गल र भ्रमपूर्ण टिप्पणी जारी राखेको र समानान्तर समिति घोषणा गरेको देखिएकाले कारबाही गरेको विवेकशील साझाले बताएको छ ।

मितिः ६ पुस २०७८, मंगलबार

श्री मिलन पाण्डे,
काठमाडौं ।

विषयः पार्टीको सदस्य समेत नरहने गरी निष्कासन गरिएको बारे।

विवेकशील साझा पार्टीको संयोजकको जिम्मेवारीमा रहेका तपाईँले पार्टीलाई गम्भीर क्षति पु¥याउने गरी बदनियतपूर्वक पार्टी विधान र केन्द्रीय समितिका निर्णयहरू विपरीतको गतिविधि लगातार जारी राखेको तथा केन्द्रीय समितिको बैठकमा निरन्तर अनुपस्थित भएकोमा मिति २०७८ मङ्सिर २८ गते बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णय अनुसार तपाईँसँग पुष ४ गतेसम्मको समय दिएर लिखित स्पष्टीकरण (च. सं. ५०१) माग गरिएको विदितै छ।

पार्टीले दिएको उक्त समय सीमाभन्दा एक दिन ढिलो गरी सञ्चारमाध्यम समेतबाट सार्वजनिक तपाईँको स्पष्टीकरणमा तपाईँसँग सोधिएका प्रश्नको यथार्थ, तथ्यपरक र चित्तबुझ्दो जवाफ नआएको केन्द्रीय कार्य सम्पादन समितिको ठहर छ।

तपाईँले बरु उल्टै पार्टीका निर्णय र नेतृत्वप्रति अनर्गल र भ्रमपूर्ण टिप्पणीसहित निकृष्ट व्यक्तिगत आरोप लगाउने कार्य जारी राखेको र समानान्तर समिति नै घोषणा गरेको देखिन्छ।

अतः पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज मिति २०७८ पुष ६ गते बसेको बैठकले विवेकशील साझा पार्टीको विधान २०७८ को भाग ७ (३१.१) को अधिकार प्रयोग गर्दै तपाईँलाई आजकै मितिदेखि लागु हुने गरी पार्टीको सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको छ।

तपाइँले प्रयोग गर्दै आउनुभएको पार्टीको नाम, लेटरहेड, छाप, चुनाव चिन्ह तथा पार्टीसँग सम्बन्धित कुनै पनि सामग्री आजैका मितिदेखि प्रयोग नगर्न र गरेमा प्रचलित कानुन बमोजिम कारबाही अघि बढाइने जानकारी पनि गराइन्छ।

 

प्रतिक्रिया दिनुहोस