साफ च्याम्पियनसिप उपविजेता नेपाली टोलीलाई जनही ५ लाख नगदसहित सम्मान

सफल खबर संवाददाता

मंगलबार, ०६ पुस २०७८, १४ : २४
साफ च्याम्पियनसिप उपविजेता नेपाली टोलीलाई जनही ५ लाख नगदसहित सम्मान

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली फुटबल टोलीलाई सरकारले नगदसहित सम्मान गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो पटक फाइनलमा स्थान बनाउँदै उपविजेता भएको टोलीलाई जनही ५ लाख नगदसहित सम्मान गरेका हुन।

यसअघि १३ औं संस्करणको साफ उपविजेता बनेर स्वदेश फर्किएको टोलीलाई सरकारले कात्तिक १ गतेको मन्त्रिपरिषदको निर्णयबाट जनही ५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो ।

सोही अनुसार सरकारले २३ खेलाडीलाई ५ लाख, तीन जना प्रशिक्षकलाई जनही ३ लाख र ४ अफिसियललाई प्रमाणपत्रसहित सम्मान गरेको हो । युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको सम्मान कार्यक्रममा मन्त्री महेश्वर गहतराज पनि सहभागी भएका थिए ।

साफ फुटबलको इतिहासमा पहिलो पटक फाइनल प्रवेश गरेको नेपाल भारतसँग पराजित भएको थियो ।

पुरस्कार वितरण पछि बोल्दै प्रधानमन्त्री देउवाले राष्ट्रका लागि पदक दिलाउने खेलाडीलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए। उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा परिचय बनाउन खेलाडीले गरेको मिहिनेतप्रति आभार व्यक्त गरे ।

कार्यक्रममा मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी, कप्तान किरण चेम्जोङ र रोहित चन्द भने उपस्थित भएका थिएनन् । कप्तान किरण माल्दिभ्समा र रोहित इन्डोनेसियामा ब्यवसायिक फुटबल खेल्न गएका छन् भने मुख्य प्रशिक्षक अल्मुताइरी पनि नेपाल बाहिर छन् ।

प्रतिक्रिया दिनुहोस