जनकपुरधाम । जनकपुरको धार्मिक महत्वको दूधमती नदी अतिक्रमणको चपेटामा परेको छ। अतिक्रमणमा संलग्न व्यक्तिले नदीको मुहान नै थुनेका छन्। नदी पुरेर खेत बनाएका छन्। कतै–कतै घरै ठड्याएका छन्। तर, सरकारी निकायले अतिक्रमण हटाउन चासो देखाएको छैन।
दूधमतीको उद्गमस्थल धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर अरजनमा टोलमा पर्छ। यसको बहाव महोत्तरीको मधवापुर मटिहानीसम्म करिब ४६ किलोमिटर क्षेत्रफलमा छ। यो नदीमा ५० वर्षअघिसम्म सफा र स्वच्छ पानी बग्थ्यो। अहिले ठाउँ–ठाउँमा थुनिएको छ। भएको धारमा पनि फोहोर र ढल मिसाएर नदी प्रदूषित बनेको छ।
‘दूधमतीको पानी पहिले सोझै खान मिल्ने खालको थियो’, जनकपुरधाम उपमहानगरपालिका–२२ बिसबिट्टीका ७५ वर्षीय सोनफी सहनी भन्छन्, ‘पहिला फागुपूर्णिमामा मिथिला मध्यमा परिक्रमा जनकपुर आउँदा दूधमती नदीकै किनारमा परिक्रमा यात्रीहरू बस्थे। यस नदीको पानी लिएर खाना पकाउने गर्थे। तर, अहिले त पानी निकै फोहोर भएको छ।’
बिसबिट्टीकै ५० वर्षीय विन्देश्वर साहका अनुसार दूधमतीको पानीले यस क्षेत्रमा सिँचाइ पनि हुन्थ्यो। ‘पहिला नदी किनारमा ठूलठूलो रूखहरू थियो। नदी निकै सुन्दर र कलकल पानीले भरिएको थियो। तर, जति–जति जनकपुर सहर बस्दै गयो त्यति दूधमती खुम्चिँदै गएको छ’, स्थानीयवासी साह भन्छन्, ‘अधिकांश ठाउँमा नदीको डिल पुरेर जग्गा नम्बरी गराइएको छ। अहिले त केही स्थानहरूमा मात्रै दूधमतीको धार बाँकी छ।’
मुहान थुनेर पोखरी
जानकारका अनुसार धर्तीको गर्भबाट आफैं प्रस्फुटित भएको दूधमतीको धारा कलकलाउँदै बग्ने गथ्र्यो। तर, व्यक्तिगत स्वार्थका कारण नदी थुनेर हाल पोखरी बनाइएको छ। मूल मुहान थुनेर करिब दुई बिघामा डिल बाँधी दूधमतीलाई पोखरीको स्वरूप दिइएको छ। नदी क्षेत्र मिचेर खेत बनाउन पोखरी बनाइएको जानकार बताउँछन् । यो पोखरी प्रयोग भने गरेका छैनन् । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०६ पुस २०७८, ०७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनकपुरको पहिलो जित, चितवन पराजित
सुदूरपश्चिमविरुद्ध जनकपुरको पहिले ब्याटिङ गर्दै
एनपीएल : विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार
एनपीएल: जनकपुरलाई काठमाण्डुले हरायो
एनपीएल उद्घाटन खेलमा जनकपुरविरुद्ध टस जितेर फिल्डिङमा उत्रियो काठमाडौँ
भारतको पहलगाममा भएको आक्रमण विरुद्ध जनकपुरमा प्रदर्शन