स्पेनिस ला लिगा : सेभिया र बार्सिलोना विजयी

एजेन्सी

आइतबार, ०४ पुस २०७८, ०८ : ४३
स्पेनिस ला लिगा : सेभिया र बार्सिलोना विजयी

एजेन्सी । स्पेनिस ला लिगामा दोस्रो स्थानमा आसिन सेभिया र बार्सिलोनाले जित निकालेका छन् । घरेलु मैदानमा शनिबार राति भएको खेलमा सेभियाले एट्लेटिको म्याड्रिडलाई २–१ गोलले हरायो । बार्सिलोनाले इल्चेमाथि ३–२ गोलको रोमाञ्चक जित निकाल्यो ।

सेभियाको जितमा इभान राकिटिक र लुकास ओकम्पोसले गोल गरे । एट्लेटिकोका फिलिपेले एक गोल फर्काए । प्रतिस्पर्धात्मक खेलमा सेभियाले सातौं मिनेटमा खाता खोलेको थियो । राकिटिकले करिम रिकिकको पासमा गोल गर्दै घरेलु टोलीको उत्साह जगाए ।

३३औं मिनेटमा फिलिपेले बराबरी गोल गर्दै एट्लेटिकोलाई खेलमा फर्काउने प्रयास गरे । फिलिपेले थोमस लेमारको पासमा गोल गरेका थिए । ८८औं मिनेटमा लुकास ओकम्पोसले जुलेस कोन्डेको पास गोल गर्दै सेभियालाई जिताए । सेभियाका इभान राकिटिक ‘म्यान अफ दी म्याच’ भए । जितसँगै सेभियाले दोस्रो स्थान थप बलियो बनाएको छ । १७ खेल सकेको सेभियाको ३७ अंक छ । पराजित एट्लेटिको २९ अंक सहित पाँचौं स्थानमा झरेको छ । शीर्षस्थानमा रहेको रियल म्याड्रिडको ४२ अंक छ ।

यसैगरी घरेलु मैदानमा बार्सिलोनालाई जिताउन फेरान जुटग्ला, पाब्लो गाभिरा र निकोले गोल गरे । इल्चेका टेटे मोरेन्टे र पेरे मिल्लाले गोल गरेका थिए । जारी सिजन खराव लयबाट गुज्रिएको बार्सिलोनाको पछिल्लो पाँच खेलमा यो पहिलो जित हो । बार्सिलोनाले १६औं मिनेटमा फेरानको गोलमा अग्रता लिएको थियो । पाब्लोले १९औं मिनेटमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफमा खेलमा फर्किएको इल्चेले दुई मिनेटको अन्तरमा दुई गोल गर्दै खेललाई बराबरीमा ल्यायो । ६२औं मिनेटमा टेटे मोरेन्टे र ६३औं मिनेटमा पेरे मिल्लाले गोल गरेपछि खेलले रोचक मोड लिएको थियो । त्यसपछि ८५औं मिनेटमा निकोले पाब्लो गाभिराको पासमा गोल गर्दै बार्सिलोनालाई रोमाञ्चक जित दिलाए । निको ‘म्यान अफ दी म्याच’ भए ।

जितसँगै १७ खेलबाट २७ अंक बनाएको बार्सिलोना सातौं स्थानमा छ । पराजित इल्चे १५ अंक सहित १६औं स्थानमा छ । अर्को खेलमा भिल्लारियलले १० खेलाडीमा सिमित रियल सोसिडाडलाई ३–१ र रायो भालेकानोले डिर्पोटिभो अलाभेसलाई २–० गोलले पराजित गरेको छ ।

प्रतिक्रिया दिनुहोस