जर्मनीबाट आयो साढे ४१ लाख डोज खोप

पत्रपत्रिकाबाट

शुक्रबार, ०२ पुस २०७८, ०७ : २८
जर्मनीबाट आयो साढे ४१ लाख डोज खोप

काठमाडौं । जर्मन सरकारले नेपाललाई कोरोनाविरुद्ध ४१ लाख ४२ हजार २५० डोज खोप प्रदान गरेको छ। कोभ्याक्स सुविधाअन्तर्गत जर्मन सरकारले खोप उपलब्ध गराएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

जर्मन सरकारले उपलब्ध गराएको खोपमध्ये १९ लाख ६५ हजार ६ सय डोज मोर्डनाको र २१ लाख ७६ हजार ६५० डोज जोन्सन एन्ड जोन्सनको छ। खोपको धेरै मात्रा आइसकेको र जोन्सन एन्ड जोन्सनको बाँकी मात्रा शुक्रबारसम्म आइपुग्ने स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाले जनाएको छ।

जर्मन सरकारबाट प्राप्त खोपले नेपालमा सञ्चालित कोभिडविरुद्धको अभियानमा थप सहयोग पुग्ने स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जनाएका छन्।

एक कार्यक्रममा मन्त्री खतिवडाले खोप उपलब्ध गराएको भन्दै नेपालस्थित जर्मनीका राजदूत डा। स्टेफेन रुसेक तथा दूतावास परिवारलाई धन्यवाद दिए।

नेपालमा कोरोना महामारी सुरु भएयता जर्मनीले स्वास्थ्य क्षेत्रमा आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको स्मरण पनि उनले गरे। महामारीका बेला जर्मन सरकारले स्वास्थ्य मन्त्रालयलाई स्वास्थ्य सेवाका लागि १० मिलियन युरो उपलब्ध गराएको थियो।

जर्मन सरकारबाट प्राप्तमध्ये मोर्डनाको खोप यही पुस ४ गतदेखि १२–१८ वर्ष उमेर समूहका बालबालिकालाई दिन थालिनेछ।