हिमाल संरक्षण र दिगो पर्यटनमा सरकार प्रतिबद्ध छ पर्यटन मन्त्री पौडेल

सफल खबर संवाददाता

बुधबार, १३ जेठ २०८३, १४ : ३०
हिमाल संरक्षण र दिगो पर्यटनमा सरकार प्रतिबद्ध छ पर्यटन मन्त्री पौडेल

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल (गनेस) ले हिमाली क्षेत्रको संरक्षण, पर्वतारोहीको सुरक्षा तथा दिगो पर्यटन प्रवर्द्धनका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।

काठमाडौँमा आयोजित ‘एभरेस्ट समिटर्स समिट २०२४’ लाई सम्बोधन गर्दै मन्त्री पौडेलले हिमालय क्षेत्रको संरक्षण नेपाल मात्र नभई विश्वव्यापी साझा जिम्मेवारी भएको उल्लेख गरे। उनले सगरमाथा आरोहीहरूको साहस, दृढता र समर्पणप्रति प्रशंसा व्यक्त गर्दै उनीहरूको योगदानलाई सम्मानयोग्य भएको बताए।

समिटका क्रममा आयोजित राष्ट्रपतिको सहभागितामा भएको ‘प्रेसिडेन्सियल ब्रेकफास्ट’ तथा आरोहीहरूको शपथ ग्रहण कार्यक्रमलाई मन्त्री पौडेलले राष्ट्रिय गौरव र जिम्मेवारीसँग जोडिएको महत्वपूर्ण अवसरका रूपमा व्याख्या गरे।

जलवायु परिवर्तनका असरबारे चिन्ता व्यक्त गर्दै उनले हिमालय क्षेत्रमा हिमनदी पग्लिने समस्या तथा जैविक विविधता ह्रासले गम्भीर चुनौती सिर्जना गरिरहेको उल्लेख गरे। यस विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण आवश्यक रहेको उनको भनाइ थियो।

हिमालहरू एसियाका प्रमुख जलस्रोत ‘वाटर टावर’ का रूपमा रहेको उल्लेख गर्दै मन्त्री पौडेलले यसको संरक्षणका लागि वैज्ञानिक सहकार्य तथा साझा लगानी अपरिहार्य रहेकोमा जोड दिए।

उनले नेपाललाई विश्व स्तरीय साहसिक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न शेर्पा, गाइड, उद्धारकर्मी तथा पर्यटन व्यवसायीहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको समेत बताएका छन्।

प्रतिक्रिया दिनुहोस