काठमाडौँ । नेपालमा विद्युत् पहुँच करिब शतप्रतिशत नजिक पुगेको छ। आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार देशको कुल जनसंख्याको ९९.१ प्रतिशतमा विद्युत् सेवा विस्तार भइसकेको छ।
सर्वेक्षणले उपलब्ध गराएको तथ्यांकअनुसार हाल देशको कुल जडित विद्युत् क्षमता ४ हजार १०५ मेगावाट पुगेको छ। ऊर्जा उत्पादन तथा विस्तारसँगै नेपालले यस वर्ष भारततर्फ २ हजार ९१८ गिगावाट घण्टा बिजुली निर्यात गरेको पनि उल्लेख छ, जुन फागुन २०८२ सम्मको विवरण हो।
ऊर्जा उत्पादनको संरचना
जडित क्षमताको संरचनामा जलविद्युत् प्रमुख स्रोतका रूपमा रहेको छ, जसको क्षमता ३ हजार ७९८ मेगावाट पुगेको छ। त्यसपछि सौर्य ऊर्जाबाट १४२ मेगावाट उत्पादन भएको छ। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत १०६.२४ मेगावाट विद्युत् उत्पादन भएको देखिन्छ।
त्यसैगरी तापीय ऊर्जा (थर्मल प्लान्ट) बाट ५३.४ मेगावाट र चिनी उद्योगबाट सहउत्पादन प्रणालीमार्फत करिब ६ मेगावाट विद्युत् उत्पादन भइरहेको तथ्यांकमा उल्लेख छ।
राष्ट्रिय ग्रिड विस्तार
फागुन २०८२ सम्मको अवस्थाअनुसार नेपाल विद्युत् प्राधिकरण अन्तर्गतका आयोजनाबाट ६६१.५७ मेगावाट, सहायक कम्पनीहरूबाट ७४८.४ मेगावाट र निजी क्षेत्रबाट २ हजार ५८७ मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिएको छ। यसअनुसार कुल ग्रिड-जडित क्षमता ३ हजार ९९७ मेगावाट पुगेको छ।
ग्राहक संख्या र प्रसारण संरचना विस्तार
विद्युत् उपभोक्ताको संख्या पनि उल्लेख्य रूपमा बढेको छ। २०८२ असारसम्म ५७ लाख ८ हजार रहेका ग्राहक संख्या फागुनसम्म बढेर ५८ लाख ५९ हजार पुगेको छ।
प्रसारण पूर्वाधारतर्फ ६६ केभी र सोभन्दा माथिको राष्ट्रिय प्रसारण लाइन ७ हजार १६१ सर्किट किलोमिटरबाट बढेर ७ हजार २८० सर्किट किलोमिटर पुगेको छ। ३३ केभी प्रसारण लाइन विस्तार भई ८ हजार २२५ सर्किट किलोमिटर पुगेको छ।
त्यस्तै ४००/२३० भोल्ट वितरण लाइन १ लाख ५६ हजार ७९० सर्किट किलोमिटरबाट बढेर १ लाख ७३ हजार ४३ सर्किट किलोमिटर पुगेको सर्वेक्षणले देखाएको छ।
भविष्यको उत्पादन क्षमता विस्तार
विभिन्न आयोजना सम्पन्न हुने क्रममा रहेकाले आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म थप ६६६ मेगावाट विद्युत् उत्पादन हुने अनुमान गरिएको छ। यससँगै देशको कुल विद्युत् उत्पादन क्षमता करिब ४ हजार ६२६ मेगावाट पुग्ने प्रक्षेपण गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ जेठ २०८३, १५ : ००
लेखकबाट थप