राष्ट्रियसभा निर्वाचनको लागि दल दर्ता गर्न आह्वान

सफल खबर संवाददाता

विहीबार, ०१ पुस २०७८, ०८ : ५५
राष्ट्रियसभा निर्वाचनको लागि दल दर्ता गर्न आह्वान

काठमाडौँ । राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनको तयारी तीव्र तुल्याइएको छ। आगामी फागुन २० गते रिक्त हुने १९ सदस्य पदका लागि हुने निर्वाचनमा भाग चाहने राजनीतिक दललाई दल दर्ता गर्न निर्वाचन आयोगले बिहीबार सूचना प्रकाशित गर्दै आह्वान गरेको छ।

उक्त निर्वाचनको लागि आयोगले यसअघि नै निर्वाचन कार्यक्रम र कार्यतालिका प्रकाशित गरिसकेको छ। निर्वाचन कार्यतालिका र कार्यक्रमअनुसार आन्तरिक तयारी कार्य तीव्ररुपमा अघि बढिरहेको आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिए।

राजनीतिक दल दर्ताका लागि पुस १ देखि १० गतेसम्मको समय दिइएको छ। राष्ट्रियसभाका सदस्यमध्ये फागुन २० गते पदावधि समाप्त हुनेमा नेकपा ९एमाले० का आठ, नेकपा ९एकीकृत समाजवादी० का चार, नेकपा ९माओवादी केन्द्र० का चार र नेपाली कांग्रेसका तीन सदस्य छन्।

आगामी पुस १७ गते मतदाता नामावली प्रकाशित गर्ने कार्यतालिका रहेको छ। सोही दिन प्रकाशित नामावलीमा नाम समावेश हुन छुट भएका व्यक्तिले आफ्नो नाम समावेश गर्नका लागि दर्खास्त दिने, नाम समावेश भएको व्यक्तिले आफ्नो नाम थर उमेर, पद आदि सच्याउन दर्खास्त दिने तथा प्रकाशित नामावलीमा उल्लेख भएका मतदाताको विरोधमा उजुरी दिने कार्यक्रम छ।

उक्त निर्वाचनका लागि पुस २० गते उम्मेदवारको मनोनयनपत्र दर्ताको कार्यक्रम रहेको छ। समाजका प्रबुद्ध वर्गको प्रतिनिधित्व रहने ५९ सदस्यीय राष्ट्रियसभा स्थायी सदन हो। आगामी निर्वाचन सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र अन्य समूहका सात पदका लागि हुन लागेको हो। सरकारको सिफारिसमा राष्ट्रपतिबाट विज्ञका रूपमा मनोनीत रामनारायण बिडारीको पदावधि पनि फागुन २० मै समाप्त हुँदैछ।

उक्त निर्वाचनमा भाग लिने उम्मेदवारलाई पुस २५ गते निर्वाचन चिह्न प्रदान गरिने छ। पुस २५ देखि माघ ११ गतेसम्म उम्मेदवारले प्रचारप्रसारको अवधि पाउनेछन्। माघ १२ गते बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुने आयोगले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस