फिल्मफेयर अवार्ड नेपालमा गर्ने तयारी

सफल खबर संवाददाता

मंगलबार, २८ मंसिर २०७८, १४ : ३५
फिल्मफेयर अवार्ड नेपालमा गर्ने तयारी

काठमाडौं । बलिउड फिल्म उद्योगको चर्चित अवार्ड फिल्मफेयरलाई नेपालमा आयोजना गर्न पहल सुरु भएको छ । अवार्ड आयोजना सम्बन्धमा पर्यटनमन्त्री प्रेमबहादुर आले र संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग छलफल गर्न फिल्मफेयरका दुईजना प्रतिनिधि आगामी साता काठमाडौं आउँदैछन् ।

फिल्मफेयरले नेपाल सरकार र काठमाडौंस्थित एक कम्पनीसँग मिलेर सन् २०२२ भित्र अवार्ड कार्यक्रम नेपालमा आयोजना गर्न खोजिरहेको छ ।‘फिल्मफेयरका दुईजना प्रतिनिधि मुम्बइबाट संचार र पर्यटनमन्त्री ज्यूसँग छलफल गर्न आउने कार्यक्रम छ’ काठमाडौंस्थित आयोजक कम्पनीका प्रतिनिधिले भने, ‘मन्त्रीज्यूसँग छलफल भएपछि कहिले गर्ने र कसरी गर्ने भन्नेबारेमा एमओयू हस्ताक्षर हुनसक्छ ।’

फिल्मफेयरले काठमाडौं वा पोखरामध्ये कुनै एक ठाउँमा अवार्ड आयोजना गर्न खोजिरहेको ती प्रतिनिधिले बताए । कोरोनाभाइरस महामारीले थलिएको नेपाली पर्यटनलाई उकास्न अवार्ड लाभदायक हुने आशा फिल्मफेयरले लिएको उनले जनाए ।

यसअघि नेपालमा गर्ने भनिएको बलिउडको अर्को चर्चित अवार्ड आइफा विवादकै कारण स्थगित भएको थियो । सलमान खानको दबंग टूर पनि विवादले रोकिएको थियो । तर, ब्रायन एडम्स र एमएलटीआर कन्सर्टलाई नेपालमा आयोजना गरिएको अहिलेसम्मकै भव्य र विदेशी कार्यक्रम मानिन्छ ।

प्रतिक्रिया दिनुहोस