डेल्टाभन्दा ओमिक्रोन भेरियन्ट संक्रामक छ : डब्ल्यूएचओ

सफल खबर संवाददाता

सोमबार, २७ मंसिर २०७८, १४ : ५०
डेल्टाभन्दा ओमिक्रोन भेरियन्ट संक्रामक छ :  डब्ल्यूएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोभिड(१९ को नयाँ ओमिक्रोन भेरियन्ट डेल्टाभन्दा संक्रामक भएको जनाएको छ । आइतबार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले डेल्टा भेरियन्टभन्दा ओमिक्रोन संक्रामक भएको र खोपको प्रभावकारिता घटाउने जनाएको हो । तर प्रारम्भिक तथ्यांकबाट डेल्टाको तुलनामा ओमिक्रोनका लक्षण कम गम्भीर रहेको पनि डब्ल्यूएचओले प्रष्ट पारेको छ ।

डिसेम्बर ९ सम्म ६३ मुलुकमा ओमिक्रोन फेला परेका छन् । नयाँ भेरियन्ट तीव्र गतिमा फैलिनुको कारण अझै प्रष्ट भइसकेको छैन । तर हालसम्म उपलब्ध तथ्यांक हेर्दा ओमिक्रोनले संक्रमण गतिमा डेल्टालाई उछिन्न सक्ने देखिएको डब्ल्यूएचओको भनाइ छ ।

‘तर हाल उपलब्ध तथ्यांक हेर्दा सामुदायमा संक्रमण फैलिन पुग्यो भने ओमिक्रोनले डेल्टा भेरियन्टलाई उछिन्ने देखिन्छ’ डब्ल्यूएचओको विज्ञप्ति उदृत गर्दै अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

प्रारम्भिक तथ्यांकका आधारमा ओमिक्रोनले कोभिड(१९ खोपको प्रभावकारिता समेत घटाउन सक्ने तर डेल्टाभन्दा कम घातक रहेको पनि डब्ल्यूएचओको विश्लेषण छ ।‘ओमिक्रोनविरुद्ध खोपको प्रभावकारितासम्बन्धी उपलब्ध तथ्यांक सीमित छ र स्वतन्त्र रुपमा विश्लेषण हुन बाँकी छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तर प्रारम्भिक प्रमाण र निकै परिवर्तित भएको ओमिक्रोनको स्पाइक प्रोटिनसम्बन्धी विवरणले यसको संक्रमण तथा विस्तारविरुद्ध खोपको प्रभावकारिता घट्ने देखाउँछन् ।’

प्रतिक्रिया दिनुहोस