रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले हराउँदै कोलकाता नाइट राइडर्स विजयी

पत्रपत्रिकाबाट

सोमबार, १७ बैशाख २०७५, ०७ : २०
रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले हराउँदै कोलकाता नाइट राइडर्स विजयी

कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिगमा अाइतबार रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले पराजित गरेको छ ।
घरेलु टोली बेंगलोरले प्रस्तुत गरेको १ सय ७६ रनको लक्ष्य कोलकाताले १९.१ अोभरमा प्राप्त गरेको थियो । कोलकाताका लागि अोपनर अस्ट्रेलियन ब्याट्सम्यान क्रिस लिनले नटअाउट ६२ रनको योगदान दिए । उनले ५२ बलको सामना गर्दै ७ चौका र १ छक्का प्रहार गरे । पुरै समय ब्याटिङ गरेका लिनको ७ रनको स्थितिमा हुँदा युजभेन्द्र चहलको बलमा क्याच ड्रप भएको थियो ।

लिनलाई कप्तान दिनेश कार्तिक र उपकप्तान रोबिन उथप्पाले पनि राम्रो साथ दिए । कार्तिकले १० बलमा २३ तथा उथप्पाले २१ बलमा ३६ रन बनाएका थिए । अर्का अोपनर सुनिल नाराइनले १९ बलमा २७ रन जोडे । बेंगलोरका मुर्गन अाश्विन र मोहमद सिराजले २/२ विकेट बाँडे ।

त्यसअघि पहिलो ब्याटिङ गरेको बेंगलोरले २० अोभरमा ४ विकेट गुमाउँदै १ सय ७५ रन जोडेको थियो । कप्तान विराट कोहलीले नटअाउट ६८ रन जोडेपछि बेंगलोर बलियो योगफलतर्फ अग्रसर भएको थियो । उनले ४४ बलमा ५ चौका र ३ छक्का प्रहार गरे ।अोपनर ब्रेन्डन मक्कुलमले ३८ र क्विनटन डेककले २९ रन जोड्दै राम्रो सुरुवात दिएका थिए ।
मन्दिप सिंहले १९ र कोलिन डे ग्रान्डहोमले नटअाउट ११ रन बनाए । कोलकाताबाट अान्द्रे रसलले ३ र कुलदिप यादवले १ विकेट लिए । खेलको म्यान अफ द म्याच क्रिस लिन भए । -एजेन्सी

प्रतिक्रिया दिनुहोस