स्पेनिस ला लिगा : सेभियाको कठिन जित

एजेन्सी

आइतबार, २६ मंसिर २०७८, १० : १६
स्पेनिस ला लिगा : सेभियाको कठिन जित

एजेन्सी । स्पेनिस ला लिगाको दोस्रो स्थानमा आसिन सेभियाले एथलेटिक बिल्बाओमाथि कठिन जित निकालेको छ । शनिबार राति भएको खेलमा सेभियाले बिल्बाओलाई उसैको मैदानमा १–० गोलले हरायो ।

प्रतिस्पर्धात्मक खेलमा सेभियालाई जिताउन थोमस डिलानीले गोल गरे । थोमसले ३८औं मिनेटमा गोन्जालो मोन्टेलको पासमा गोल गरेका थिए । दोस्रो हाफमा दुवै टोलीले गोल गर्ने राम्रा अवसर गुमाएका थिए ।

५५ प्रतिशत बल पोसेसन राखेको घरेलु टोली बिल्बाओ अन्ततः गोलरहित हार खेप्न बाध्य बन्यो । खेलभर बिल्बाओले १३ वटा पोस्ट् प्रहार गरेको थियो । पहिलो हाफमा अग्रता लिएपछि रक्षात्मक देखिएको सेभिया आफ्नो रणनितिमा सफल भयो । सेभियाले पनि सात वटा पोस्ट् प्रहार गरेको थियो ।

निर्णायक गोल गरेका सेभियाका थोमस डिलानी ‘म्यान अफ दी म्याच’ भए । जितसँगै सेभियाले १६ खेलबाट ३४ अंक बनाएको छ । शीर्षस्थानमा रहेको रियल म्याड्रिडको ३९ अंक छ । तेस्रो स्थानमा रहेको रियल बेटिसको ३० अंक छ । पराजित बिल्बाओ २१ अंकसहित १०औं स्थानमा छ ।

शनिबार रातिनै भएको खेलमा भ्यालेन्सियाले इल्चेलाई २–१ गोलले हराएको छ । जितसँगै भ्यालेन्सिया सातौं स्थानमा उक्लिएको छ । भ्यालेन्सियाको २५ अंक छ । पराजित इल्चे १५ अंक सहित १६औं स्थानमा छ ।

अर्को खेलमा स्पान्योलले १० खेलाडीमा सिमित लिभान्तेलाई ४–३ गोलले हरायो । जितसँगै २३ अंक बनाएको स्पान्योल नवौं स्थानमा छ । अठ अंक बनाएको लिभान्ते तालिकाको अन्तिममा छ ।

अलाभेस र गेटाफेले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । बराबरीसँगै १५ अंक बनाएको अलाभेस १७औं र १२ अंक बनाएको गेटाफे १८औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस