यी तीन विवादमा अल्झियो कांग्रेस

पत्रपत्रिकाबाट

आइतबार, १६ बैशाख २०७५, ०७ : ४४
यी तीन विवादमा अल्झियो कांग्रेस

काठमाडौँ । चुनावी समीक्षाका लागि बसेको कांग्रेस केन्द्रीय समिति बैठक मुख्यतः तीन विवादमा फसेको छ । पदाधिकारीसहित सबै केन्द्रीय सदस्य बोलिसकेपछि बैठकको निर्णय सार्वजनिक गर्न दुई दिनदेखि कसरत भए पनि कांग्रेस असफल भएको हो । विवादकै कारण शनिबार औपचारिक बैठक बसेन । नेताहरू अनौपचारिक छलफलमा भने जुटे ।

शनिबार बिहान ९ बजेका लागि बैठक डाकिएको थियो, तर ११ बजेसम्म पनि सबै सदस्य उपस्थित भएनन् । १२ बजेपछि केन्द्रीय कार्यालय सानेपामै भएको मुस्लिम संघको महाधिवेशनमा नेताहरू अल्झिए । त्यहाँ दुई घन्टा सहभागी भए । तर, त्यसपछि पनि केन्द्रीय समिति बैठक बस्न सकेन । बैठकको निर्णय कसरी लेख्ने भन्नेमै संस्थापन पक्ष र रामचन्द्र पौडेल तथा कृष्णप्रसाद सिटौला पक्षबीच विवाद छ ।

अनौपचारिक छलफलमा सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, डा.प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, डा. मिनेन्द्र रिजाल, नवीन्द्रराज जोशी बसेका थिए । तर, तीन घन्टामा पनि उनीहरू सहमतिमा पुगेनन् । नेताहरू आइतबार बिहान ९ बजे बैठक बस्ने गरी उठे  ।

मुख्य ३ विवाद
विवाद १ : महासमिति बैठक र जिल्ला सभापति भेलाको मिति
कांग्रेसमा धारणा राख्दादेखि निर्णय गर्ने तयारी चल्दासम्म पौडेल र सिटौला पक्षले जेठभित्रै जिल्ला सभापतिको भेला र ढिलोमा असार १५ सम्म महासमिति बैठक डाक्ने गरी निर्णय गर्न नेतृत्वलाई दबाब दिँदै आएको छ ।

तर, समिति बनाएर विधान संशोधन गर्नुपर्ने तथा महासमितिका लागि प्रस्ताव तयार गर्नुपर्ने भन्दै असारमा बैठक राख्नै नसकिने अडान संस्थापन पक्षले लिएको छ ।

विवाद २ : हारको जिम्मा कसले लिने ?
पौडेल र सिटौला पक्षले पार्टीको नीतिगत र त्रुटिगत कमजोरीका कारण निर्वाचनमा हारेको निर्णयमा लेख्नुपर्ने बताउँदै आएका छन् ।
तर, संस्थापन भने एमाले र माओवादीको वाम गठबन्धन र अन्तर्घातका कारण हारिएको विषयलाई निर्णयमा लेख्न चाहन्छ । ‘निर्वाचनमा हारको जिम्मा कसले लिने भन्नेमै अर्को विवाद छ,’ एक केन्द्रीय सदस्यले बताए ।

विवाद ३ : विधानविपरीतका समिति
बैठक चलेदेखि नै विधानविपरीतका टिकट बाँड्ने संसदीय समिति र केन्द्रीय कार्यसम्पादन समिति भंग गर्नुपर्ने विषय उठेको थियो । तर, संस्थापन यी समिति भंग गर्ने निर्णयमा लेख्न तयार नभएपछि अलमल भएको अर्का एक सदस्यले बताए ।, नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस