सीटीईभीटी सदस्य सचिव काफ्लेको मनपरी : नियमविपरीत कलेजलाई सम्बन्धन, करोडौं असुलीको आरोप

पत्रपत्रिकाबाट

विहीबार, १६ मंसिर २०७८, ०७ : २३
सीटीईभीटी सदस्य सचिव काफ्लेको मनपरी : नियमविपरीत कलेजलाई सम्बन्धन, करोडौं असुलीको आरोप

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का सदस्य सचिव जीवनारायण काफ्लेमाथि आफूअनुकूल सेटिङ गरेका कलेजलाई मात्र सम्बन्धन दिनेगरी भर्ना प्रक्रिया अघि बढाएको आरोप लागेको छ । पीसीएल भर्नाका लागि कलेजलाई सम्बन्धन दिनेक्रममा प्रतिकलेज ५ देखि १० लाख रुपैयाँसम्म असुल गरेको आरोप उनीमाथि लागेको हो ।

काफ्लेलाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेको थियो । तर, सीटीईभीटीका वर्तमान अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई समेत उनले प्रभावमा पारेर गलत कार्य गर्ने प्रयास थालेको कलेज सञ्चालकको दाबी छ ।

नियमविपरीत कलेजलाई सम्बन्धन, करोडौं असुलीको आरोप
सीटीईभीटीकै स्तर निर्धारण शाखामा कार्यरत खेम पोखरेल र सोही शाखामा कार्यरत सदस्य सचिवका आफ्नै दाइ नाता पर्ने कर्मचारी रमाकान्त काफ्लेले कलेजसँग रकम असुल्ने जिम्मा लिएको स्रोतको दाबी छ । चिकित्सा शिक्षा ऐनविपरीत पीसीएल नर्सिङको भर्ना खुलाएपछि विवादित बनेका सदस्य सचिव काफ्लेले तत्कालीन शिक्षा सचिव रामप्रसाद थपलियालाई समेतनिकट बनाएका थिए ।

सचिव थपलिया सरुवा भए पनि हाल सिधैं मन्त्री पौडेलसँग कुरा गरी सदस्य सचिव काफ्लेले आफ्ना गलत कार्यहरू अघि बढाउँदै आएको कर्मचारीको भनाइ छ ।

सदस्य सचिव बनाउन आफ्नो योगदान महत्वपूर्ण रहेकाले आफैंले आवश्यक चाँजोपाजो मिलाउन पाउनुपर्ने भन्दै स्तर निर्धारण महाशाखाका कर्मचारी पोखरेलले पनि मनलाग्दी गर्दै आइरहेको बताइन्छ ।

स्रोतका अनुसार सदस्य सचिव काफ्ले आफंैले कलेज सञ्चालकसँग कुराकानी मिलाउने गरेको र कुराकानी नमिले नियम नपुगेको भन्दै दुःख दिने गरेको सञ्चालकको गुनासो छ ।

मन्त्रीको दबाबमा परिषद्ले स्नातक तहमा नर्सिङ पठनपाठन गराउने शिक्षण पीसीएल नर्सिङ कक्षा सञ्चालन गर्न नपाउने ऐनको प्रावधान मिचेर सीटीईभीटीले विश्वविद्यालयबाट सम्बन्धन पाएका २१ मेडिकल कलेजलाई अनुमति दिन आवेदन मागेको थियो । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस