तल्लो मोदी जलविद्युत् आयोजना तीन महिनापछि सञ्चालनमा

रासस

बुधबार, १५ मंसिर २०७८, २१ : ०७
तल्लो मोदी जलविद्युत् आयोजना तीन महिनापछि सञ्चालनमा

काठमाडौँ । पर्वतमा सञ्चालित १० मेगावाट क्षमताको तल्लो मोदी–१ जलविद्युत् आयोजनाको उत्पादन झण्डै तीन महिनापछि पुनः सञ्चालन भएको छ ।

गत भदौ १७ गते राति आएको बाढीले आयोजना क्षतविक्षत बनाएपछि उत्पादन ठप्प बनेको थियो । पर्वतको कुश्मा नगरपालिका–८ चुवामा युनाइटेड मोदी हाइड्रोपावर कम्पनीद्वारा सञ्चालित १० मेगावाट क्षमताको यो आयोजनामा ठूलो क्षति पुगेका कारण मर्मत गर्न लामो समय लागेको हो ।

प्राविधिक र आयोजनाका कर्मचारीको निरन्तरको प्रयासपछि गत शुक्रबारदेखि उत्पादन सञ्चालनमा ल्याइएको युनाइटेड मोदी हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक उपेन्द्र गौतमले जानकारी दिनुभयो । 

आयोजनाभन्दा माथिबाट आएको पहिरोले ठूलो क्षति पु¥याएपछि तत्काल मर्मत गर्न नसकिएको हो । बाढीले आयोजनाको नहर, बाँधस्थल, सेयर वाल, स्ल्याबलगायतका संरचनामा क्षति पुगेको थियो । विद्युत् उत्पादनगृहमा कुनै क्षति नपुगे पनि नहरबाट पानी पास गराउन समय लागेको हो । उक्त आयोजनाको विद्युत्गृहदेखि मोदी सबस्टेसन जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइनको चार नम्बर टावरसमेत पहिरोले ढालेको थियो ।

टावर ढलेसँगै तल्लो मोदी–१ को विद्युत् गृहमा पठाउने पानीको नहरको ५०० मिटर भागमा लेदोसहितको माटो थुप्रिनुका साथै करिब एक किलोमिटर क्षेत्र क्षतविक्षत बनाएको थियो । त्यसबाहेक युनाइटेड मोदी आयोजनाले नै निर्माण गरेको विद्युत् प्रसारण टावरसमेत पहिरोले ढालेको थियो । 

निर्देशक गौतमका अनुसार बाढी र पहिरोका कारण नोक्सान मात्रै रु पाँच करोडभन्दा बढी भएको छ । त्यसैगरी अहिलेसम्म विद्युत् उत्पादन नहुँदा थप रु दुई करोड आम्दानीसमेत घटेको उहाँले बताउनुभयो । आयोजनाको मर्मत पूर्णरूपमा अझै नसकिएको उहाँको भनाइ छ । यसअघि पनि जेठ ३१ गते राति सुन्दरेखोलामा आएको बाढीले नहर पुरिँदा झण्डै एक महिनामा आयोजना सञ्चालनमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस