कोरोनाको नयाँ भेरिएन्ट ‘ओमाइक्रोन’ अहिलेसम्मकै संक्रामक छ : डब्लुएचओ

एजेन्सी

शनिबार, ११ मंसिर २०७८, १३ : १७
कोरोनाको नयाँ भेरिएन्ट ‘ओमाइक्रोन’ अहिलेसम्मकै संक्रामक छ : डब्लुएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दक्षिण अफ्रिकामा संक्रमण पुष्टि भएको नयाँ कोरोनाभाइरसको प्रजातिलाई ओमाइक्रोन नाम दिएको छ । यसलाई डब्लुएचओले संक्रामक (भेरिएन्ट अफ कन्सर्न) को सूचीमा राखेको छ ।

CG Hills

गएराति आयोजित आपतकालिन पत्रकार सम्मेलनमा डब्लुएचओ प्रमुख डा.टेड्रोसले नयाँ भेरिएन्ट तीव्ररुपमा फैलिने र ठूलो संख्यामा उत्परिवर्तित हुनेभन्दै सतर्क हुन आह्वान गरेका छन् ।

सबैभन्दा पहिले नोभेम्बर २४ मा दक्षिण अफ्रिकामा उक्त भेरिएन्टको कोरोना पुष्टि भएको डब्लुएचओले जनाएको छ । नेपालका लागि यो किन पनि जोखिमपूर्ण छ भने नेपालसँगको सीधा हवाइ उडान रहेको हङकङमा समेत यो भेरिएन्टको संक्रमण पुष्टि भएको छ ।

बोत्स्वाना, हङकङ, बेल्जियम र इजरायलमा समेत यो भेरिएन्टको संक्रमण पुष्टि भैसकेको छ । भारत, अमेरिका, बेलायतसहित केही युरोपेली मुलुकहरुले दक्षिण अफ्रिका र संक्रमण पुष्टि भएका मुलुकका उडानहरुमा रोक तथा कडाइ गरेका छन् ।

शुक्रबार दिउँसो अफ्रिकामा १.१.१.५२९ वैज्ञानिक नामको भेरिएन्ट पुष्टि भएको खबर बाहिरिएको थियो । दक्षिण अफ्रिकाका सबै ठाउँमा यो भाइरस फैलिएको बताइएको छ । तत्कालै डब्लुएचओले विज्ञप्ति जारी गर्दै भन्यो, ‘यो भेरिएन्टले ठूलो संख्यामा संक्रमण फैलाउन सक्छ । त्यसमध्ये केही अति संक्रामक मानिएको छ ।’

बेलायती स्वास्थ्य एजेन्सीले नयाँ भेरिएन्ट अहिले प्रयोगमा आएको कोभिड–१९ विरुद्ध कम प्रभावकारी हुने समेत बताएको छ । अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक जेम्स नैसमिथले भने, ‘यो खराब समाचार हो तर, अत्यन्तै खराब चाहिँ होइन ।’ उनले तीव्ररुपमा फैलिने क्षमता यो भेरिएन्टमा रहेको बताए । अहिलेसम्म दक्षिण अफ्रिकाका २४ प्रतिशत जनसंख्यालाई मात्र खोप लगाइएको छ ।