एमाले महाधिवेशनमा खान र बस्न १ करोड ६० लाख खर्च

सफल खबर संवाददाता

सोमबार, ०६ मंसिर २०७८, १८ : ११
एमाले महाधिवेशनमा खान र बस्न १ करोड ६० लाख खर्च


चितवन । सौराहामा अझै पनि विदेशी पर्यटकहरू नआउँदा निराश बनेका यहाँ होटल व्यवसायी यतिबेला पनि उत्साहित छन् । कोरोना संक्रमणको जोखिम कम भएर अवस्था सामान्य भइसक्दा सौराहामा आशा गरे जति अझै विदेशी पर्यटक आइपुगेका छैनन् । सौराहा सुरक्षित छ भन्ने सन्देश दिनका लागि व्यवसायीहरू ‘घुमौँ सौराहा’ अभियान लिएर देश दौडाहा जाँदा पनि सोचे जति पर्यटक आएका थिएनन् । नेकपा एमालेले १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्द सत्र सौराहामा गर्ने भएपछि भने व्यवसायीहरू उत्साहित भएका छन् ।

एमालेको बन्द सत्रका बेला सौराहामा इतिहासमा पहिलो पटक सबैभन्दा बढीको कारोबार हुने व्यवसायीहरूको अनुमान छ । एमालेको बन्द सत्र ११ र १२ मंसिरमा सौराहाको सेभेन स्टारमा हुँदै छ । ११ मंसिरको बिहान बेलुका र १२ मंसिरको बिहानको खाना प्रतिनिधिले होटल सेभेन स्टारमा खाने छन् । १० र १२ मंसिर बेलुकीको खाना भने प्रतिनिधि बसेकै होटलले व्यवस्थापन गर्ने छ ।

९–१३ मंसिरसम्मको अवधिमा सौराहामा १० करोडको हाराहारीमा कारोबार हुन अनुमान गरिएको क्षेत्रीय होटल व्यवसायी संघ सौराहा चितवनका अध्यक्ष दिपक भट्टराई बताउँछन् । सौराहा वाइल्डलाइफ पर्यटनका रूपमा परिचित छ । यहाँको लागि मंसिर महिना सिजनको रूपमा रहे पनि कोरोना महामारीका कारण विदेशी पर्यटकहरू अझै आएका छैनन् ।

‘बन्दसत्रमा देशभरबाट आउनुहुन्छ । बस्नुहुन्छ, खानुहुन्छ । त्यहीअनुसार गतिविधि बढ्छ । हामीकहाँ जिप, हात्ती सफारी छन् । यी सबैलाई हेर्दा मोटामोटी १० करोडको कारोबार हुन्छ कि भन्ने आंकलन गरेका छौँ’, उनले भने । एमालेको कार्यक्रमपछि सौराहाको पर्यटन गतिविधि दीर्घकालिन रूपमा वृृद्धि हुँदै जाने व्यवसायीहरूको अपेक्षा छ । सौराहाको इतिहासमा अहिले जसरी सबै होटलहरू बुक भएको अवस्था सायदै नरहेको उनी बताउँछन् । ‘होटलहरूको एउटा पनि कोठा खाली नरहेर भरिएको यो पहिलो पटक हो’, उनी भन्छन्, ‘यसअघि ८० देखि ९० प्रतिशतसम्म सौराहा भरिएको भन्ने गथ्र्यौँ । अहिले त एउटा पनि रुम छैन ।’

सौराहामा अहिले भारतीय पर्यटकहरू दैनिक २०० भन्दा बढी आए पनि तेस्रो मुलुकका पर्यटकको आगमन एकदमै न्यून रहेको उनी बताउँछन् । महाधिवेशनको बन्द सत्रमा सहभागी हुने महाधिवेशन प्रतिनिधि, स्वयंसेवक, अतिथि र पत्रकारहरूका लागि भनेर ३५ सय बेड बुकिङ गरिएको छ । पाँच छाक खाना र बस्नका लागि भनेर एमालेले सौराहामा एक करोड ६० लाख खर्चिएको छ । जसमा व्यवसायीहरूले ८० लाख रुपैयाँ अग्रिम लिइसकेका छन् ।

‘सौराहामा ६५ सय बेड छ । महाधिवेशनका लागि भनेर ३५ सय बेड बुक गर्नुभएको छ’, उनले भने, ‘एमालेले महाधिवेशन यहाँ गर्ने भयो भनेर हल्ला भएपछि १५ सय बेड जति त पहिल्यै बुक भइसकेका रहेछन् ।’ पछिल्ला दिनहरूमा व्यक्तिगत रूपमा फोन र प्रत्यक्ष भेटेर पनि कोठा बुक गर्ने काम भइरहेकाले अब कोठा पाउन मुस्किल रहेको उनले बताए ।

९–१३ मंसिरसम्म एमालेको महाधिवेशनबाहेक अन्य गतिविधिका लागि कोठा उपलब्ध नरहेको उनी बताउँछन् । सौराहामा क्षेत्रीय होटल व्यवसायी संघ र रेस्टुरेन्ट एण्ड बार एसोसियसनमा आबद्ध १२० वटा होटल छन् । ती संस्थामा आबद्ध नभएका ६० भन्दा बढी होटल पनि सौराहामा छन् । महाधिवेशनको बन्द सत्रमा सहभागी हुने सबैको व्यवस्थापनका लागि सौराहाका सबै होटललाई समेटिएको उनले बताए ।
 

तोकिएको शुल्क भन्दा बढी कोठा भाडा नलिन आग्रह

सौराहाका होटलहरूलाई स्तरअनुसार ठूलो, मझौला र सानो गरी तीन वर्गमा वर्गीकरण गरिएको छ । ठूलो वर्गका होटलमा स्टार लेभलका स्विमिङ पुलसहितका ५० देखि ६० वटा कोठा भएका होटल पर्छन् । त्यसैगरी २५ देखि ३० वटा कोठा भएका होटललाई मझौला वर्गमा राखिएको छ भने १० देखि १५ वटा कोठा भएका होटललाई सानो ग्रेडमा राखिएको छ ।

महाधिवेशनमा सहभागीलाई होटलहरूले स्तर अनुसार २० देखि ५० प्रतिशतसम्म छुट दिएका छन् । साना होटलका कोठालाई २५ सय, मझौला होटलका कोठालाई ३५ सय र ठूला होटलका कोठालाई चार हजारमा खानासहित उपलब्ध गराइएको उनले बताए । ‘हामीले प्रचारप्रसारका लागि विशेष छुट दिएका हौँ । एमालेले हाम्रो निःशुल्क प्रचार गरेको जस्तो भएकाले हामीले पनि अवसरका रूपमा लिएका छौँ’, उनले भने ।

यसअघि विभिन्न दलहरूले सौराहामा कार्यक्रम आयोजना गर्ने र सम्झौताअनुसारको पैसा पनि नदिएर झुलाएर राख्ने गरेकोमा एमालेले अग्रिम पैसा दिएकोमा उनले खुसी व्यक्त गरे । पर्यटन प्रवद्र्धनमा राम्रो कडी बन्न सक्छ भन्ने विश्वासले छुटको व्यवस्था गरिएको उनले बताए । ‘कोठा सहजै पाउन मुश्किल भएको हुँदा कसैले बढी पैसा दिन्छु कोठा राखिदिनु भनेर फोन आएको छ भन्ने पनि सुनिएको छ । तर, हामीले तय गरेकोभन्दा बढी पैसा कसैले पनि लिनुहुन्न । गुनासो आएछ भने हामी एक्सनमा जान्छौँ’, उनले भने ।

एमाले महाधिवेशनको बन्द सत्रबाट सौराहामा ठूला कार्यक्रम गर्न र सहभागीलाई खानपानको उचित बन्दोबस्त गर्न सकिन्छ भन्ने सन्देश दिन खोजिएको उनले बताए ।

२५ प्रतिशतले हात्ती चढ्ने विश्वास

एमालेले महाधिवेशन चितवनमै गर्नु व्यवसायीको लागि सौभाग्य भएको युनाइटेड हात्ती सञ्चालन सहकारीका अध्यक्ष एवम् इको एड्भेन्चर रिसोर्टका सञ्चालक ऋषी तिवारी बताउँछन् । देशभरबाट आएका महाधिवेशन प्रतिनिधिलाई सौराहाले राम्रो आतिथ्यता दिएर देशभर राम्रो सन्देश प्रवाह गर्ने तयारी छ । ‘घुमौँ सौराहा अभियानपछि पनि सोचेँजति पर्यटक नआएको अवस्थामा एमालेले महाधिवेशन यही गर्नु हामी व्यवसायीका लागि सौभाग्यको कुरा हो । हामीले यहाँ आउने प्रतिनिधि मार्फत यहाँको राम्रो सन्देश देशभर जाने गरी सेवासुविधा उपलब्ध गराउछौँ’, उनले भने ।

महाधिवेशनको बन्द सत्रमा सहभागीमध्ये करिब २५ प्रतिशत सहभागीले सफारी गर्ने व्यवसायीहरूको अनुमान छ । एक घण्टाको हात्ती सफारी हुने गरेकोमा महाधिवेशनलाई लक्षित गरेर दुई घण्टा गरिएको छ । अहिले सौराहाका ७५ प्रतिशत हात्तीहरू दैनिक सफारीमा जाने गरेका छन् ।

एउटा हात्तीले बिहान र बेलुका दुई÷दुई पटक सफारी गर्ने उनले बताए । एउटा हात्तीमा चार जनासम्म चढ्न सक्छन् । त्यस हिसाबले एउट हात्तीले दिनमा १६ जना पर्यटकलाई सफारी गराउन सक्छ । हात्ती सफारी गर्ने विदेशी पर्यटकले २५ सय रुपैयाँ तिर्छन् भने आन्तरिक पर्यटकले १५ सय रुपैयाँ तिरे पुग्छ ।

१०१ शेयर सदस्य रहेको सहकारीमा ३३ वटा हात्ती छन् । एउटा हात्तीमा तीन÷चार जनासम्म व्यवसायीको पनि लगानी हुने गरेको छ । चितवन राष्ट्रिय निकुञ्जभित्र हुने जिप सफारीका लागि सौराहामा ४० वटा जिप छन् । सामुदायिक वनमा हुने जिप सफारीका लागि ९० वटा जिप छन् । निकुञ्जभित्र एक पटकमा चार घण्टा र सामुदायिक वनमा एक पटकमा साढे दुई घण्टासम्म जिप सफारी हुन्छ । निकुञ्जमा सफारी गर्दा प्रतिव्यक्ति करसहित एक हजार ६५० रुपैयाँ र सामुदायिक वनमा सफारी गर्दा प्रतिव्यक्ति करसहित ६५० रुपैयाँ शुल्क लाग्छ ।

उनको २२ कोठा भएको मझौला स्तरको रिसोर्ट पनि छ । रिसोर्टमा १७ जना कर्मचारी कार्यरत थिए । महाधिवेशनलाई लक्षित गरेर १३ जना कर्मचारी थप गरिसकिएको उनले बताए । बाह्य पर्यटकलाई आकर्षण गरेर राजस्व बृद्धिका लागि सरकारले नै पहल गर्नुपर्ने उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस