पौडेलले देउवालाई भने- ‘तर, तपाईंको पूजा गर्न सकिँदैन’

पत्रपत्रिकाबाट

शनिबार, १५ बैशाख २०७५, ०७ : १४
पौडेलले देउवालाई भने- ‘तर, तपाईंको पूजा गर्न सकिँदैन’

काठमाडौं । कांग्रेस नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाको पूजा गर्न नसकिने बताएका छन् । यसअघिको केन्द्रीय समिति बैठकमा बाँडेको पर्चाका कारण आफूमाथि आरोप लागेपछि पौडेलले त्यसको बचाउ गर्दै नेतृत्वको आलोचना गरेका हुन् ।

‘महादेव भोगी भएनन् त्यागी भए र पूजा हुन्छ,’ शुक्रबार बैठकमा डेढ घन्टा बोलेका पौडेलले भने, ‘तपाईं (शेरबहादुरजी) चारपटक प्रधानमन्त्री हुनुभयो । तर, त्यागमा लाग्नुभएन भोगी हुनुभयो । त्यसैले चारपटक प्रधानमन्त्री हुनुभयो भनेर तपाईंको पूजा गर्न सकिँदैन ।’

त्यागभन्दा भोगको राजनीतिमा लागेकाले आफूले गिनिज बुकमा नाम लेखाउन भनेको दलिल पेस गर्दै उनले आफूले पहिले लगाएको आरोपको बचाउ गरे । आजको नयाँ पत्रिकामा समाचार छ ।

तपाईंहरूका आँखै पूर्वाग्रही
५१ सालमा गिरिजाप्रसादले संसदीय दलको नेता छाडे पनि यसपटक पार्टी हार्दा देउवाले नछाडेको भन्दै लोभ देखाएको आरोप पौडेलले लगाए । ‘त्यागले मान्छेलाई माथि लान्छ, तर भोगले पतन गराउँछ भन्न खोजेको हो । मैले कति धेरै सुझाब पनि दिएको छु, तर साथीहरूले सुझाब देख्नुभएन,’ आफूमाथि सभापति पक्षधर नेताले लगाएको आरोपको खण्डन गर्दै पौडेलले भने, ‘तपाईंहरू यस्तै पूर्वाग्रही आँखाले हेर्नुहुन्छ । आरोप लगाएको भन्नुहुन्छ । हिजो गिरिजादेखि सुशीलजीलाई नालायक भन्ने अनि राजीनामा माग्ने तपाईं नै हो, मैले त हट्नुस् भन्या छैन । तपाईंले जस्तो भनेको छैन । सुधारेर जाऊँ भनेको छु ।’

प्रतिक्रिया दिनुहोस