फेरि पनि माओवादीको पक्षमा जनलहर आउने संकेत देखिन थालेको छ : प्रचण्ड

सफल खबर संवाददाता

शनिबार, ०४ मंसिर २०७८, ०७ : ४२
फेरि पनि माओवादीको पक्षमा जनलहर आउने संकेत देखिन थालेको छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फेरि पनि पार्टीको पक्षमा जनलहर आउने संकेतहरु देखिन थालेको बताएका छन् । ०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा माओवादीको पक्षमा जनलहर आएजस्तै त्यस्तो संकेत फेरि देखिन थालेको प्रचण्डको दावी छ।  

शुक्रबार नेपाली जनप्रगतिशील मन्च कतारको पाँचौ अधिवेशनलाई भर्चुअल विधिबाट सम्बोधन गर्दै प्रचण्डले देशैभर माओवादीको पक्षमा जनआकर्षण देखिएको र पार्टीमा ८ लाख भन्दा बढी संगठित सदस्य अबद्ध भइसकेको बताए । 

‘०६४ सालको जस्तै माओवादीको पक्षमा जनलहर आउने संकेत देखिन थालेको छ’, प्रचण्डको भनाइ थियो, ‘हिमाल, पहाड, तराई सबैतिर आकर्षण देखिएको छ । ८ लाख भन्दा बढीले संगठित सदस्यता नविकरण गराइसकेका छन् । जनताको भरोसायोग्य पार्टी माओवादी हो भन्ने जनताले बुझेको महसुश गरेको छु ।’ 

उनले माओवादी आन्दोलनकै बलमा देशमा परिवर्तन आएको जिकिर गर्दै यो कुरा जनताले राम्ररी बुझेको पनि बताए । तर, अहिले प्रतिक्रान्तिकारी सल्बलाउन थालेको भन्दै प्रचण्डले यसप्रति सचेत रहनुपर्नेमा जोड दिए ।  प्रचण्डले जनताको असली मित्र माओवादी नै भएको भन्दै पार्टीले समानुपातिक, समावेशीताको पक्षमा काम गरिरहेको पनि बताए। यस्तै नेपालमै रोजगारीको सिर्जनादेखि विकास, समृद्धि र समाजवादको नयाँ मोडल बनाउने कार्यमा पनि पार्टी लागिपर्ने प्रचण्डको भनाइ थियो ।

प्रचण्डले आगामी पुसमा हुने पार्टीको राष्ट्रिय सम्मेलनबाट पार्टी थप सुदृढ हुने पनि बताए ।  अर्को प्रसंगमा प्रचण्डले एमसीसीका विषयमा रहेका प्रश्नहरुको हल नभएसम्म पारित हुन नसक्ने बताए । उनले एमसीसीबारे अमेरिकी सहायक विदेशमन्त्रीसँग आज कुरा भएको जानकारी दिँदै  आफूहरु अमेरिकी सहयोगको पक्षमा भएपनि प्रश्नहरुको हल भने खोजिनुपर्ने कुरा राखेको बताए ।

 कार्यक्रममा पार्टीको प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माले कतारमा नेपाली श्रमिकले भोग्नु परेको समस्यालाई सबै मिलेर हल खोजिनुपर्ने बताए । उनले  कतारमा  रहेका श्रमिकहरुलाई जनप्रगतिशल मञ्चमा आबद्ध हुन पनि आह्वान गरे। कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस