नेपालमा हान्टाभाइरसको जोखिम न्यून

सफल खबर संवाददाता

बुधबार, ३० बैशाख २०८३, ०८ : ४०
नेपालमा हान्टाभाइरसको जोखिम न्यून

काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा हालसम्म हान्टाभाइरसको कुनै पनि सङ्क्रमण पुष्टि नभएको स्पष्ट पारेको छ। 

पछिल्लो समय यस भाइरसका बारेमा भइरहेका विभिन्न चर्चा र आशङ्काका बीच मन्त्रालयले एक आधिकारिक सूचना जारी गर्दै नेपालमा यसको तत्काल जोखिम अत्यन्त न्यून रहेको जनाएको हो।

मन्त्रालयका अनुसार हाल चर्चामा रहेको हान्टाभाइरस समूहको 'एन्डिज भाइरस' सार्ने विशेष प्रजातिको मुसा नेपालमा सामान्यतया पाइँदैन। जसका कारण नेपालमा यो भाइरस महामारीका रूपमा फैलिने सम्भावना नरहेको स्वास्थ्य विज्ञहरूको ठम्याइ छ।

के हो हान्टाभाइरस र कसरी सर्छ ?
हान्टाभाइरस एक दुर्लभ भाइरल रोग हो। यो मुख्यतया सङ्क्रमित मुसाको पिसाब, दिसा, र्‍याल वा तिनीहरूले दूषित बनाएको वातावरणसँग प्रत्यक्ष सम्पर्कमा आउँदा मानिसमा सर्ने गर्दछ। 

वैज्ञानिक अध्ययनहरूका अनुसार मानिसबाट मानिसमा यो भाइरस सर्नु अत्यन्त दुर्लभ मानिन्छ र सीमित अवस्थामा अत्यन्त नजिकको सम्पर्कबाट मात्र सङ्क्रमणको सम्भावना रहन्छ।

जोखिम न्यून भए तापनि जनस्वास्थ्यको संवेदनशीलतालाई ध्यान दिँदै मन्त्रालयले सर्वसाधारणलाई केही सावधानी अपनाउन अनुरोध गरेको छ। घर तथा वरपरको वातावरण सफा राख्ने, मुसा प्रवेश गर्ने सम्भावित प्वालहरू बन्द गर्ने र मुसाको फोहोर सफा गर्दा अनिवार्य रूपमा मास्क तथा पन्जा प्रयोग गर्न मन्त्रालयले सुझाएको छ। 

साथै, नियमित रूपमा साबुनपानीले हात धुने बानी बसाल्न र ज्वरो आउने वा श्वासप्रश्वासमा समस्या देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरिएको छ।

स्वास्थ्य मन्त्रालयले सामाजिक सञ्जालमा आउन सक्ने भ्रामक सूचना र अफवाहको पछि लागेर अनावश्यक आतङ्क सिर्जना नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस