भ्रष्टाचारको आरोप लागेपछि प्रदेश २ का मुख्यमन्त्री राउतलाई राजिनामा दिन चौतर्फी दबाब

पत्रपत्रिकाबाट

शुक्रबार, ०३ मंसिर २०७८, ०७ : ५४
भ्रष्टाचारको आरोप लागेपछि प्रदेश २ का मुख्यमन्त्री राउतलाई राजिनामा दिन चौतर्फी दबाब

काठमाडौं । साइकल वितरण कार्यक्रममा भ्रष्टाचार गरेको आरोप लागेपछि प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले राजीनामा दिनुपर्ने माग उठेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेर साइकल वितरण कार्यक्रमको कागजात आफ्नो नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेपछि मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने आवाज उठेको हो ।

प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० प्रदेश २ संसदीय दलका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीले तुरुन्त राजीनामा दिनुपर्ने बताउँछन् । अख्तियारले गरेको प्रथम चरणको अनुसन्धानअनुसार भ्रष्टाचार ठहर भइसकेकाले पदमा बसेर मुद्दा प्रभावित बनाउन सकिने भएकाले राजीनामा गरेर अनुसन्धानमा सहयोग गर्नुपर्ने सोनलले बताए ।

‘मुख्यमन्त्रीले नैतिकताको आधारमा तुरुन्त राजीनामा दिनुपर्छ । साइकल वितरण कार्यक्रममा भ्रष्टाचार भएको ठहर भइसकेको छ । अब चार सिट तयार गरी मुद्दा हालिँदै छ । यस्तो अवस्थामा मुख्यमन्त्रीले तुरुन्त राजीनामा गरेर अनुसन्धानमा सहयोग गर्नुपर्छ,’ सोनलले भने ।

लोसपा कार्यकारिणी समितिका सदस्यसमेत रहेका सोनलले अख्तियारले निष्पक्ष रूपमा छानबिन गरी दोषीलाई कानुनअनुसार कारबाही गर्नुपर्ने बताए । मुख्यमन्त्री राउत नेतृत्वको प्रदेश २ सरकारमा यसअघि सोनल भौतिक पूर्वाधार मन्त्री थिए ।

प्रतिपक्षी दल नेकपा (एमाले) प्रदेश २ संसदीय दलका नेता सत्यनारायण मण्डलले भ्रष्टाचारमा प्रदेश २ अघि रहेको बताए । एमाले स्थायी कमिटीका सदस्यसमेत रहेका मण्डलले प्रदेश २ सरकारको हरेक कार्यालयमा भ्रष्टाचार तीव्र रूपमा भइरहेको बताए । भ्रष्टाचार गरेको आरोप लागेका मुख्यमन्त्री राउतले राजीनामा गरेर अनुसन्धानमा सहयोग गर्नुपर्ने उनले बताए । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस