रास्वपाकी पूजा बास्तोलाले दिइन् उजुरी

सफल खबर संवाददाता

शुक्रबार, १२ असार २०८३, १३ : ३६
रास्वपाकी पूजा बास्तोलाले दिइन् उजुरी

काठमाडौं । रास्वपा केन्द्रीय सदस्यकी उम्मेदवार पूजा बास्तोलाले निर्वाचनको मतपरिणाममा आफूमाथि अन्याय भएको भन्दै पार्टीको निर्वाचन आयोगमा उजुरी दिएकी छन् । आफूभन्दा कम मत ल्याउनेलाई केन्द्रीय सदस्यमा निर्वाचित गरेर आफूलाई पन्छाइएको उनको दाबी छ ।

बास्तोलाले प्रादेशिक केन्द्रीय सदस्यका लागि गण्डकीबाट उम्मेदवारी दिएकी थिइन् । आफूलाई विद्युतीय मेसिनबाट ८९३ र प्रवासबाट २० गरी ९१३ मत आएको उनको भनाइ छ । तर, ८०० मत ल्याएकी विष्णुकुमारी गुरुङ (एकता) निर्वाचित हुँदा वास्तोलाको नाम विजयी सूचीमा छैन ।

प्रत्येक प्रदेशबाट सर्वाधिक मत ल्याउने ५ जना निर्वाचित हुन्छन्, जसमध्ये दुईजना महिला हुनुपर्ने व्यवस्था छ । गण्डकीबाट पवित्रा थापा, मनिष खनाल, सागर भुषाल, सोम शर्मा र विष्णुकुमारी निर्वाचित भएका छन् । पूजाले भनेको मत संख्या सत्य हो भने उनी विष्णुकुमारीभन्दा अगाडि देखिन्छन् ।

उनले एक भिडिओ सन्देशमा भनेकी छन्, ‘हिजोसम्म विजयी सूचीमा मेरो नाम थियो । तर, अचानक नाम हटाएर कम भोट ल्याउनेलाई छिराइएछ । यस विरुद्ध मैले निर्वाचन आयोगमा उजुरी दिएकी छु ।’

आफूले दिएको उजुरी दर्ता भए पनि कुनै कारवाही नगरिएको उनको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस