प्रकाश दाहाल स्मृति बक्सिङको क्वार्टरफाइनल समीकरण पूरा

सफल खबर संवाददाता

बुधबार, ०१ मंसिर २०७८, १० : २७
प्रकाश दाहाल स्मृति बक्सिङको क्वार्टरफाइनल समीकरण पूरा

काठमाडौं । एपीएफका पुरन राई र नेपाल आर्मी ‘बी’का बाबुराम मगर प्रकाश दाहाल स्मृति दोस्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष ५७ केजीमा क्वार्टरफाइनल प्रवेश गरेका छन् ।

मंगलबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको कराते हलमा भइरहेको प्रतियोगितामा पुरनले कास्कीका सरोज विक तथा बाबुरामले सल्यानका गोविन्द बठा मगरलाई पराजित गरे । 

उक्त तौल समूहमा नेपाल प्रहरीका शम्भु राजवंशीले कैलालीका निर्मल सुवेदीविरुद्ध वाकओभर पाए । एचटुओका बुद्ध ग्याल्मो लामाले ललितपुरका रोशन अछामीलाई पराजित गर्दा कंचनपुरका रन्जन भट्टले रामेछापका टल छन्त्याललाई हराए । 

भाइबका तिलवीर पुन मगरले बाँकेका नितेश नेपालीविरुद्ध वाकओभर पाउँदा बक्समान्डुका सुरज महर्जनले नक्सालका भक्तबहादुर किन्जरिङ तथा आर्मीका पुरन सुनारले बोसीगाउँका सुलभ मालाकारलाई हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे ।

नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा जारी प्रतियोगिताको पुरुष ६० केजीमा नक्सालका विजय थापाले आरडीएसका मार्सल गुरुङलाई पराजित गर्दा बीएनकेका इन्द्रबहादुर सुनारले पाटनका सन्तोष राईलाई हराए । 

आर्मीका विमल रोक्काले अल्फाका निराजन चौधरीलाई पराजित गर्दा दाङका अनिल पुन मगरले बीटीएफसीका मौसम राना मगर तथा कास्कीका सौगात कुमालले ललितपुरका निशान दासलाई पाखा लगाउँदै क्वार्टरफाइनल यात्रा तय गरे ।

पुरुष ५४ केजीमा अल्फाका रेमोन पुन मगरले सुर्खेतका प्रकाश तरुङ मगरबाट वाकओभर पाएर क्वार्टरफाइनलमा स्थान पक्का गरे । महिला ४८ केजीमा नक्सालकी सुष्मा तामाङले बाँकेकी माया खत्री तथा आरडीएसकी रमिशा श्रेष्ठले आर्मीकी आरती बम्जनलाई निराश पार्दै क्वार्टरफाइनल पुगे ।

प्रतिक्रिया दिनुहोस