घरबाटै हिंसा अन्त्य गर्नका लागि मन्त्री रेग्मीको निर्देशन

सफल खबर संवाददाता

बुधबार, ०१ मंसिर २०७८, ०७ : ४७
घरबाटै हिंसा अन्त्य गर्नका लागि मन्त्री रेग्मीको निर्देशन

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले घरबाटै हिंसा अन्त्यका लागि गम्भीर बन्न अधिकारका क्षेत्रमा कार्यरत सङ्घसंस्थालाई निर्देशन दिएकी छन्।

महिला हिंसा विरुद्धको १६ दिने अभियानको तयारी बैठकमा मन्त्री रेग्मीले हिंसा विरुद्धको अभियान गाउँ टोलसम्म पुर्‍याउनु पर्ने र घरबाटै हिंसा अन्त्यका लागि सबै पक्ष गम्भीर बन्नु पर्ने बताएकी हुन्।

‘घरबाटै सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने मूल नारालाई साकार पार्न सबै पक्ष गम्भीर बन्नुपर्छ,’मन्त्री रेग्मीले भनिन्,‘अनि मात्रै महिला हिंसा विरुद्धको १६ दिने अभियानले सार्थकता पाउँछ।’ 

विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, विज्ञ, सरोकारवालहरूसँगको छलफलमा मन्त्री रेग्मीले ‘हिंसाको सुरुवात घरबाटै हुने गरेको बताउँदै गाउँ टोलसम्म हिंसाविरुद्धको अभियान पुर्‍याएर घरबाटै हुने हिंसा अन्त्य गर्न सबै गम्भीर भएर लाग्नु पर्ने बताइन्। 

प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म महिला हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने गरिएको छ। सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानासाही सरकारले निर्मम हत्या गरेको थियो।

उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ। एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिएर उनीहरूको सम्मान र सम्झनाका लागि हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १०सम्म १६ दिने अभियान मनाउने गरिएको छ।

प्रतिक्रिया दिनुहोस