माधव नेपाललाई धोका दिएर एमाले छिरेकाहरुको यसरी भयो बिचल्ली

सफल खबर संवाददाता

सोमबार, २९ कार्तिक २०७८, २० : ५८
माधव नेपाललाई धोका दिएर एमाले छिरेकाहरुको यसरी भयो बिचल्ली

काठमाडौं । माधवकुमार नेपाललाई धोका दिएर  खड्ग ओलीले सबै ठिक गर्छन्,  उनी नै पार्टी अध्यक्ष हुन् भन्दै एमाले छिरेका १० भाइको सबैभन्दा बढी विचल्ली भएको छ । आगामी मंसिरमा हुने भनिएको एमाले महाधिवेशनमा सकेसम्म १० भाइलाई कुनै पनि हालतमा पदाधिकारी वा केन्द्रीय नेतृत्वमा आउन नै नदिने रणनीतिका साथ ओली र उनको समूह लागिपरेको छ । 

विशेषगरी माधव नेपालले उनीहरुकालागि लडिदिएका थिए । झलनाथ खनाल, वामदेव गौतमहरु उनीहरुको साथमा थिए । ओलीले पेलेपनि नेपालले अडान लिएपछि उनीहरुको राजनीतिक जीवन जोगिएको थियो । यतिबेला रानो नभएको माहुरी जस्तै ओलीको पेलानमा परेका उनीहरुको राजनीतिक जीवन त सकिएको छ नै त्यो भन्दा बढी उनीहरुले लामो समयदेखि गरेको त्याग र राजनीतिक योगदान समेत सकिएको छ ।

भीम रावल, घनश्याम भुसाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, योगेश भट्टराई, गोकर्ण विष्टहरुलाई अब गोकूल बाँस्कोटा, महेश बस्नेतहरुको कार्यकर्ता बनेर बस्नुपर्ने दिन आएको छ । सुरेन्द्र पाण्डेहरु अब शेरधन राई र शंकर पोखरेलको कार्यकर्ता बन्नुपर्ने अवस्था आएको छ । राजनीतिमा यो भन्दा दुर्दशा अरु केही हुन नसक्ने एमालेका इमान्दार नेता तथा कार्यकर्ताले टिप्पणी गर्न थालेका छन् । 

आगामी मंसिरको दोस्रो सातापछि एमाले छिरेका र १० बुँदको बैतरणी समातेकाहरु खास अर्थमा घर न घाटको अवस्थामा पुग्नेछन् । त्यतिबेला उनीहरुको न तटेक्ने ठाँउ बाँकी रहनेछ , न त समाउने ठाँउ नै । किनकी, आफनो नेता र नेतृत्वलाई धोका दिएर ओलीले सबै दिइहाल्छन्, १० बुँदे गरेपछि त पार्टी सत्ताको स्वाद र चास्नीमा रमाउन पाइन्छ भनेर बसेका उनीहरुको अब राजनीतिक रुपमा पतन भएको देख्न पाइने भएको छ । माधव नेपालसँग माफ मागेर उनीहरु फर्किएको खण्डमा ओलीका लागि त्योभन्दा राम्रो झापड अरु केही हुन सक्दैन । तर आँट नभएका पानीमरुवा मध्यपन्थी अवसरवादी धार र चरित्रका कारण उनीहरुको राजनीतिक जीवन सकिएको टुलुटुल हेर्न नेपाली जनता र उनीहरुका मतदाता समेत अभिसप्त भएका छन् । 

राजनीतिक रुपमा हेर्दा अप्ठ्यारो परेका बेला ओली सहमति गर्छन् र उनी त्यसलाई कार्यान्वयन गर्दैनन् भन्ने कुरा विगतदेखि नै पुष्टि भएको थियो । जब ओली आफू अप्ठ्यारोमा परेका थिए, उनले १० बुँदको जाल फालेका थिए । त्यो जालमा  १० भाई परे । आज ओलीले केही देलान् र खान पाइएला भनेर एमालेमा बसेकाहरु घर न घाटको हुँदा माधव नेपाल पक्षमा लागेर नयाँ पार्टी बनाएकाहरुलाई चिन्ता त थपिदिएको छ त्यो भन्दा बढी खुसी गोकूल बाँस्कोटा मार्कामा ओलीका भजनमण्डलीलाई भएको छ । 

ओलीको समूहमा फरक विचारको सम्मान हुँदैन । आलोचना गर्न पाइदैन, विचारको बहस गर्न पाइदैन । उनको पक्षले गरेका ज्यादती सहनुपर्छ । अवस्था त्यस्तै भएको छ । घनश्याम भुसालले फरक मत राख्न पाएनन् । काम गर्न नसकेको भन्दै भीम रावल धपाइए । अब धपाइने पालो अरु र अन्यको पनि आएको छ । कुनै पनि विचार नराखी रुढ रुपमा ओलीले देलान् र खान पाइएला भनेर उनको भजन गाएर बस्नेलाई टपरीमा राखेरै भएपनि ओलीले केही थान फोस्रा आश्वासनको पोका देलान् त्यो भन्दा अरु केही पनि पाइने अवस्था छैन । 

विगतमा माधव नेपालले भित्र र बाहिर लड्दा त्यसैको बलमा स्थान पाएका, नेता हुनपाएका, पद र प्रतिष्ठा जोगाएकाहरु अब वल्लो तिर र पल्लो घाटको अवस्थामा पुगेका छन् । सबैतिर एकलौटी भइरहेको छ । सबैतिर ज्यादती चलीरहेको छ । तर फरक विचार राख्ने भनिएकाहरु टुटुटुलु हेर्न बाध्य छन् । १० बुँदेको एकतारे नबजाउन ओली चेतावनी दिन्छन् । मलिन स्वरमा भीम रावल डराई डराई सामाजिक सञ्जालमा आफना धारणा राख्न बाध्य भएका छन् । ओलीले अनावश्यक रुपमा पार्टीभित्र अवरोध गरे सहन नसक्ने चेतावनी नै दिइसकेका छन् । यस्तो दुःखद अवस्थालाई घनश्याम भुसालले अब कुन राजनीतिक जार्गन खडा गरेर व्याख्या गर्लान् त्यो भने हेर्न बाँकी छ । 

देशभर महाधिवेशनका प्रतिनिधि छनौट हुने क्रम शुरु भएको छ । तर कुनै पनि फरक विचार राख्ने प्रतिनिधि छनोट हने सम्भवना असाध्यै न्यून छ । यस आधारमा हेर्दा, अब सबै भन्दा पीडित उनै १० भाई र उनीहरुसँग जोडिएका नेता तथा कार्यकर्ता हुने अवस्था सिर्जना भएको छ । त्यतिबेला रावल, भुसालहरुका लागि ज्यूदै मरे जस्तो हुने अवस्था आइलाग्नेछ । उनीहरु सकेसम्म केन्द्रीय समितिमा नै निर्वाचित नहुने अवस्था आएको छ । पार्टीमा रहनु भनेको फरक विचार र मतसहितको एकत्व हुनु पनि हो । त्यो वैचारिक धरातल अब ओलीको पार्टीमा सकिएको छ । ओलीले आफनो टीम सेट गरिसकेका छन् । 

जानकारहरुका अनुसार ओली आफू बाचुञ्जेलसम्म पार्टी अध्यक्षमा रहन पाउने गरी विधान संशोधन गरिसकेका छन् । उनले वरिष्ठ उपाध्यक्षमा ओम्नी प्रकरणका खास मतियार रहेका इश्वर पोखरेललाई ल्याउने वातावरण बनाइसकेका छन् । महासचिवमा बालुवाटार जग्गा प्रकरणमा जोडिएका विष्णु पौडेललाई ल्याउन खोजिएको छ । सुवास नेम्वाङ, पृथ्वीसुब्बा गुरुङहरु उपाध्यक्ष बन्नेछन् । माओवादीमा रहँदा महासचिव भएर वरको सिन्को पर समेत नसारेका रामबहादुर थापाहरु समेत ओलीको दया माया पाइए उपाध्यक्षसम्म बन्न पाइएला कि भन्ने लालसामा बसेका छन् । 

सुदूरपश्चिम प्रदेशको इञ्चार्ज हुँ भन्दै ट्वीटरमा फलाको हाँकेर बसेका रावललाई अवसरवादको चरम राजनीति गरेका लेखराज भट्टहरुले खुल्ला चुनौती दिएका छन् । अब रावल कर्ण थापाको कार्यकर्ता बनेर बस्नुपर्ने स्थिती पैदा भएको छ । विगतमा उनलाई साथ दिएका अधिकांश नेता तथा कार्यकर्ता माधव नेपालको नेकपा(एस)मा लागेका छन् । सिपाही बिनाका जर्नेल जस्ता भएका रावललाई ओलीले अब किन भाउ दिनुप¥यो र भन्ने अवस्था सिर्जना भएको छ । 

प्रदेश कमिटिको बैठक बोलाइन्छ, भीम रावल धनगढीमा नै हुन्छन् तर उनलाई बोलाइदैन । वाग्मतीमा पार्टीको बैठक बसेको भनिएको हुन्छ, अष्टलक्षमी शाक्यहरु सहभागी हुने वातावरण बन्दैन् । आफनै गृह जिल्लामा ओलीका कार्यकर्ताले कार्यक्रम गर्छन्, भीम आचार्यहरुलाई निम्ता हुँदैन भने त्यो भन्दा जालमर्दो अवस्था के होला ? ओलीले आफूलाई सहज हुने गरी आजभोलि नै आफ्नो टिम बनाइसकेका छन् । त्यो टीममा रावल, भुसालहरु अटाएका छैनन् ।

राजनीति सकिएको, विचार सकिएको, फरक चिन्तन र कार्यशैली सकिएको पार्टीमा अब फरक विचारको सम्मान हुन्छ भन्दै बस्ने दिन कमसेकम रावल र भुसालहरुका लागि अन्त्य भएको छ । राजनीतिक जीवन र मानव जीवनमा पनि भनिन्छ नी इख नभएको मानिस र विष नभएको सर्पलाई कोही कसैले पनि मान्दैन र टेर्दैन । त्यस्तै भएको छ, माधव नेपाल छाडेर ओलीको सामु दण्डवत् गर्न पुगेका १० भाइको हालत ।

अझै पनि बुद्धी नपु¥याउने हो भने उनीहरुको अवस्था झनै बिजोग र गए गुज्रेको हुनेछ । यो अवस्थालाई ख्याल गरेर तत्काल उनीहरुले एउटा बोल्ड निर्णय गरेको खण्डमा मात्रै राजनीतिक जीवन जोगिन सक्छ । अन्यथा महेश बस्नेत, विष्णु रिमाल, गोकूल बास्ँकोटा र परशुराम बस्नेत र दुर्गा प्रसाईहरुको कार्यकर्ता बनेर बस्नुको विकल्प बाहेक १० भाइका सामु अरु केही पनि बाँकी रहने छैन । 

राजनीतिमा यस खालको टाट पल्टाईलाई अब नेपाली जनता र उनका मतदाताले रमाइलो मानी मानी हेर्नुपर्ने भएको छ । किनकी, गालीशास्त्रमा विद्यावारिधी गरेका ओली र उनको टिमले अब कुनै पनि हालतमा रावल र भुसालहरुलाई टिक्न दिने छैन । यो अवस्थालाई ख्याल गरेर आम रुपमा माफी माग्दै माधव नेपालसँग मित्रताको हात बढाउनु नै उनीहरुका लागि श्रेयस्कर हुने देखिएको छ । तर, राजनीतिक विश्लेषकहरुका अनुसार त्यस्तो आँट समेत १० भाइमा देखिदैन । आँट नै नभएपछि अब भीरबाट लडन लागेको गोरुलाई राम राम भन्न सकिन्छ काँध थाप्न सकिदैन । 
 

प्रतिक्रिया दिनुहोस