काठमाडौं । माधवकुमार नेपाललाई धोका दिएर खड्ग ओलीले सबै ठिक गर्छन्, उनी नै पार्टी अध्यक्ष हुन् भन्दै एमाले छिरेका १० भाइको सबैभन्दा बढी विचल्ली भएको छ । आगामी मंसिरमा हुने भनिएको एमाले महाधिवेशनमा सकेसम्म १० भाइलाई कुनै पनि हालतमा पदाधिकारी वा केन्द्रीय नेतृत्वमा आउन नै नदिने रणनीतिका साथ ओली र उनको समूह लागिपरेको छ ।
विशेषगरी माधव नेपालले उनीहरुकालागि लडिदिएका थिए । झलनाथ खनाल, वामदेव गौतमहरु उनीहरुको साथमा थिए । ओलीले पेलेपनि नेपालले अडान लिएपछि उनीहरुको राजनीतिक जीवन जोगिएको थियो । यतिबेला रानो नभएको माहुरी जस्तै ओलीको पेलानमा परेका उनीहरुको राजनीतिक जीवन त सकिएको छ नै त्यो भन्दा बढी उनीहरुले लामो समयदेखि गरेको त्याग र राजनीतिक योगदान समेत सकिएको छ ।
भीम रावल, घनश्याम भुसाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, योगेश भट्टराई, गोकर्ण विष्टहरुलाई अब गोकूल बाँस्कोटा, महेश बस्नेतहरुको कार्यकर्ता बनेर बस्नुपर्ने दिन आएको छ । सुरेन्द्र पाण्डेहरु अब शेरधन राई र शंकर पोखरेलको कार्यकर्ता बन्नुपर्ने अवस्था आएको छ । राजनीतिमा यो भन्दा दुर्दशा अरु केही हुन नसक्ने एमालेका इमान्दार नेता तथा कार्यकर्ताले टिप्पणी गर्न थालेका छन् ।
आगामी मंसिरको दोस्रो सातापछि एमाले छिरेका र १० बुँदको बैतरणी समातेकाहरु खास अर्थमा घर न घाटको अवस्थामा पुग्नेछन् । त्यतिबेला उनीहरुको न तटेक्ने ठाँउ बाँकी रहनेछ , न त समाउने ठाँउ नै । किनकी, आफनो नेता र नेतृत्वलाई धोका दिएर ओलीले सबै दिइहाल्छन्, १० बुँदे गरेपछि त पार्टी सत्ताको स्वाद र चास्नीमा रमाउन पाइन्छ भनेर बसेका उनीहरुको अब राजनीतिक रुपमा पतन भएको देख्न पाइने भएको छ । माधव नेपालसँग माफ मागेर उनीहरु फर्किएको खण्डमा ओलीका लागि त्योभन्दा राम्रो झापड अरु केही हुन सक्दैन । तर आँट नभएका पानीमरुवा मध्यपन्थी अवसरवादी धार र चरित्रका कारण उनीहरुको राजनीतिक जीवन सकिएको टुलुटुल हेर्न नेपाली जनता र उनीहरुका मतदाता समेत अभिसप्त भएका छन् ।
राजनीतिक रुपमा हेर्दा अप्ठ्यारो परेका बेला ओली सहमति गर्छन् र उनी त्यसलाई कार्यान्वयन गर्दैनन् भन्ने कुरा विगतदेखि नै पुष्टि भएको थियो । जब ओली आफू अप्ठ्यारोमा परेका थिए, उनले १० बुँदको जाल फालेका थिए । त्यो जालमा १० भाई परे । आज ओलीले केही देलान् र खान पाइएला भनेर एमालेमा बसेकाहरु घर न घाटको हुँदा माधव नेपाल पक्षमा लागेर नयाँ पार्टी बनाएकाहरुलाई चिन्ता त थपिदिएको छ त्यो भन्दा बढी खुसी गोकूल बाँस्कोटा मार्कामा ओलीका भजनमण्डलीलाई भएको छ ।
ओलीको समूहमा फरक विचारको सम्मान हुँदैन । आलोचना गर्न पाइदैन, विचारको बहस गर्न पाइदैन । उनको पक्षले गरेका ज्यादती सहनुपर्छ । अवस्था त्यस्तै भएको छ । घनश्याम भुसालले फरक मत राख्न पाएनन् । काम गर्न नसकेको भन्दै भीम रावल धपाइए । अब धपाइने पालो अरु र अन्यको पनि आएको छ । कुनै पनि विचार नराखी रुढ रुपमा ओलीले देलान् र खान पाइएला भनेर उनको भजन गाएर बस्नेलाई टपरीमा राखेरै भएपनि ओलीले केही थान फोस्रा आश्वासनको पोका देलान् त्यो भन्दा अरु केही पनि पाइने अवस्था छैन ।
विगतमा माधव नेपालले भित्र र बाहिर लड्दा त्यसैको बलमा स्थान पाएका, नेता हुनपाएका, पद र प्रतिष्ठा जोगाएकाहरु अब वल्लो तिर र पल्लो घाटको अवस्थामा पुगेका छन् । सबैतिर एकलौटी भइरहेको छ । सबैतिर ज्यादती चलीरहेको छ । तर फरक विचार राख्ने भनिएकाहरु टुटुटुलु हेर्न बाध्य छन् । १० बुँदेको एकतारे नबजाउन ओली चेतावनी दिन्छन् । मलिन स्वरमा भीम रावल डराई डराई सामाजिक सञ्जालमा आफना धारणा राख्न बाध्य भएका छन् । ओलीले अनावश्यक रुपमा पार्टीभित्र अवरोध गरे सहन नसक्ने चेतावनी नै दिइसकेका छन् । यस्तो दुःखद अवस्थालाई घनश्याम भुसालले अब कुन राजनीतिक जार्गन खडा गरेर व्याख्या गर्लान् त्यो भने हेर्न बाँकी छ ।
देशभर महाधिवेशनका प्रतिनिधि छनौट हुने क्रम शुरु भएको छ । तर कुनै पनि फरक विचार राख्ने प्रतिनिधि छनोट हने सम्भवना असाध्यै न्यून छ । यस आधारमा हेर्दा, अब सबै भन्दा पीडित उनै १० भाई र उनीहरुसँग जोडिएका नेता तथा कार्यकर्ता हुने अवस्था सिर्जना भएको छ । त्यतिबेला रावल, भुसालहरुका लागि ज्यूदै मरे जस्तो हुने अवस्था आइलाग्नेछ । उनीहरु सकेसम्म केन्द्रीय समितिमा नै निर्वाचित नहुने अवस्था आएको छ । पार्टीमा रहनु भनेको फरक विचार र मतसहितको एकत्व हुनु पनि हो । त्यो वैचारिक धरातल अब ओलीको पार्टीमा सकिएको छ । ओलीले आफनो टीम सेट गरिसकेका छन् ।
जानकारहरुका अनुसार ओली आफू बाचुञ्जेलसम्म पार्टी अध्यक्षमा रहन पाउने गरी विधान संशोधन गरिसकेका छन् । उनले वरिष्ठ उपाध्यक्षमा ओम्नी प्रकरणका खास मतियार रहेका इश्वर पोखरेललाई ल्याउने वातावरण बनाइसकेका छन् । महासचिवमा बालुवाटार जग्गा प्रकरणमा जोडिएका विष्णु पौडेललाई ल्याउन खोजिएको छ । सुवास नेम्वाङ, पृथ्वीसुब्बा गुरुङहरु उपाध्यक्ष बन्नेछन् । माओवादीमा रहँदा महासचिव भएर वरको सिन्को पर समेत नसारेका रामबहादुर थापाहरु समेत ओलीको दया माया पाइए उपाध्यक्षसम्म बन्न पाइएला कि भन्ने लालसामा बसेका छन् ।
सुदूरपश्चिम प्रदेशको इञ्चार्ज हुँ भन्दै ट्वीटरमा फलाको हाँकेर बसेका रावललाई अवसरवादको चरम राजनीति गरेका लेखराज भट्टहरुले खुल्ला चुनौती दिएका छन् । अब रावल कर्ण थापाको कार्यकर्ता बनेर बस्नुपर्ने स्थिती पैदा भएको छ । विगतमा उनलाई साथ दिएका अधिकांश नेता तथा कार्यकर्ता माधव नेपालको नेकपा(एस)मा लागेका छन् । सिपाही बिनाका जर्नेल जस्ता भएका रावललाई ओलीले अब किन भाउ दिनुप¥यो र भन्ने अवस्था सिर्जना भएको छ ।
प्रदेश कमिटिको बैठक बोलाइन्छ, भीम रावल धनगढीमा नै हुन्छन् तर उनलाई बोलाइदैन । वाग्मतीमा पार्टीको बैठक बसेको भनिएको हुन्छ, अष्टलक्षमी शाक्यहरु सहभागी हुने वातावरण बन्दैन् । आफनै गृह जिल्लामा ओलीका कार्यकर्ताले कार्यक्रम गर्छन्, भीम आचार्यहरुलाई निम्ता हुँदैन भने त्यो भन्दा जालमर्दो अवस्था के होला ? ओलीले आफूलाई सहज हुने गरी आजभोलि नै आफ्नो टिम बनाइसकेका छन् । त्यो टीममा रावल, भुसालहरु अटाएका छैनन् ।
राजनीति सकिएको, विचार सकिएको, फरक चिन्तन र कार्यशैली सकिएको पार्टीमा अब फरक विचारको सम्मान हुन्छ भन्दै बस्ने दिन कमसेकम रावल र भुसालहरुका लागि अन्त्य भएको छ । राजनीतिक जीवन र मानव जीवनमा पनि भनिन्छ नी इख नभएको मानिस र विष नभएको सर्पलाई कोही कसैले पनि मान्दैन र टेर्दैन । त्यस्तै भएको छ, माधव नेपाल छाडेर ओलीको सामु दण्डवत् गर्न पुगेका १० भाइको हालत ।
अझै पनि बुद्धी नपु¥याउने हो भने उनीहरुको अवस्था झनै बिजोग र गए गुज्रेको हुनेछ । यो अवस्थालाई ख्याल गरेर तत्काल उनीहरुले एउटा बोल्ड निर्णय गरेको खण्डमा मात्रै राजनीतिक जीवन जोगिन सक्छ । अन्यथा महेश बस्नेत, विष्णु रिमाल, गोकूल बास्ँकोटा र परशुराम बस्नेत र दुर्गा प्रसाईहरुको कार्यकर्ता बनेर बस्नुको विकल्प बाहेक १० भाइका सामु अरु केही पनि बाँकी रहने छैन ।
राजनीतिमा यस खालको टाट पल्टाईलाई अब नेपाली जनता र उनका मतदाताले रमाइलो मानी मानी हेर्नुपर्ने भएको छ । किनकी, गालीशास्त्रमा विद्यावारिधी गरेका ओली र उनको टिमले अब कुनै पनि हालतमा रावल र भुसालहरुलाई टिक्न दिने छैन । यो अवस्थालाई ख्याल गरेर आम रुपमा माफी माग्दै माधव नेपालसँग मित्रताको हात बढाउनु नै उनीहरुका लागि श्रेयस्कर हुने देखिएको छ । तर, राजनीतिक विश्लेषकहरुका अनुसार त्यस्तो आँट समेत १० भाइमा देखिदैन । आँट नै नभएपछि अब भीरबाट लडन लागेको गोरुलाई राम राम भन्न सकिन्छ काँध थाप्न सकिदैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ कार्तिक २०७८, २० : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
माधव नेपाल अस्पताल भर्ना
माधव नेपालको पार्टी दर्ता खारेजीको माग सर्वोच्चद्वारा अस्वीकार
‘प्रतिनिधि सभा निर्वाचनका लागि प्रस्ताव आए मिलेर अगाडि बढ्न सकिन्छ’ : माधव नेपाल
देशभित्र एकताको लागि नेकपाको विकल्प छैन: माधव नेपाल
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल