क्रिसमस र नयाँ वर्षका बेला युरोपेली मुलुकहरुमा फेरि धमाधम लकडाउन

एजेन्सी

सोमबार, २९ कार्तिक २०७८, १२ : २१
क्रिसमस र नयाँ वर्षका बेला युरोपेली मुलुकहरुमा फेरि धमाधम लकडाउन

एजेन्सी । विश्व स्वास्थ्य संगठनले युरोप कोरोना संक्रमणको केन्द्र बन्ने चेतावनी दिएको दुई साता नवित्दै युरोपेली मुलुकहरु धमाधम लकडाउनमा जान थालेका छन् ।नेदरल्याण्डले देशब्यापी लकडाउन घोषणा गरेको भोलिपल्ट अष्ट्रियाले पनि लकडाउन घोषणा गरेको छ । तर यस पटकको लकडाउनको प्रकृति भने फरक देखिएको छ ।

नेदरल्याण्डले शैक्षिक क्षेत्र, रेष्टुराँ, होटलसहित बढी भीडभाड हुने क्षेत्रमा लकडाउन गरेको छ भने अष्ट्रियाले खोप नलगाएका मानिसहरुलाई लकडाउनमा राखेको छ । अष्ट्रियाले खोप नलगाएका मानिसहरुलाई खानेकुरा किनमेलका लागि भन्दा अन्य काममा घरबाट बाहिर निस्कनबाट रोक लगाएको छ ।

अष्ट्रियामा अहिले पनि ३५ प्रतिशत जनसंख्याले खोप लगाएको छैन । पछिल्लो एक सातामा संक्रमण दर दैनिक ८ सय बाट एक लाख पुगेपछि यस्तो कदम चालिएको त्यहाँका चान्सलर अलेक्जेण्डर स्कालेनबर्गले बताएका छन् ।

खोप नलगाएकाहरुलाई घरमै सीमित गर्दा भीडभाड पनि कम हुने र संक्रमणको जोखिम पनि कम हुने विश्वास गरिएको छ । खोप लगाए नलगाएको निक्र्यौैल गर्न ठाउँ ठाउँमा प्रहरीलाई चेकजाँच गर्ने अधिकार दिइएको छ ।

उता, जर्मनीमा पनि संक्रमण दर ह्वात्तै बढेपछि आगामी साताभित्र नयाँ मापदण्ड लागू गर्ने तयारी भईरहेको छ । नेदरल्याण्डले लकडाउन लाइट नाम दिएर गत शनिबारदेखि नै आवागमन र भेटघाटलाई साँघुरो बनाएको छ ।

अर्को युरोपेली मुलुक बेल्जियममा पनि संक्रमणको दर निकै तीब्र बनेपछि त्यहाँको सरकारले नयाँ मापदण्डको विषयमा छलफल अघि बढाएको छ । यस्तै लाट्भियामा नोभेम्बरको शुरुदेखि नै लकडाउन गरिएको छ ।

सवैभन्दा पहिले कोरोना खोप बनाएको दाबी गरेको रुसमा सवैभन्दा बढी संक्रमण बढेको छ । रुसको संक्रमणको गतिले स्पुतनिक खोपको प्रभावकारितामाथि पनि ब्यापक प्रश्न उब्जाएको छ ।

प्रतिक्रिया दिनुहोस