'माओवादी आन्दोलनको उपलब्धी सङ्घीय लोकतान्त्रिक गणतन्त्र'

रासस

शनिबार, २७ कार्तिक २०७८, २१ : ५१
'माओवादी आन्दोलनको उपलब्धी सङ्घीय लोकतान्त्रिक गणतन्त्र'

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का कर्णाली प्रदेश इञ्चार्ज शक्तिबहादुर बस्नेतले राजनीतिकरुपमा मुलुक वर्तमान व्यवस्थामा आइपुग्नु माओवादी आन्दोलनको उपज भएको बताएका छन् ।

वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन कर्णाली प्रदेश समितिको दोस्रो परिषद्लाई सम्बोधन गर्दै इञ्चार्ज बस्नेतले आजको परिवर्तन नै माओवादीको अगुवाइमा भएको दाबी गरे । उन्नाइसदिने आन्दोलन १२बुँदे समझदारीको जगमा भएको तर्क गर्दै उहाँले गणतन्त्र, सङ्घीयता, समावेशिता र समानुपातिक व्यवस्था माओवादीको आन्दोलनको उपलब्धि भएको जनाए । 

उक्त सम्बोधनका क्रममा इञ्चार्ज बस्नेतले भने, “शिक्षक सामाजिक चेतनाको संवाहक हो । क्रान्तिकारी चेतनाले पूर्ण शिक्षक सामाजिक रुपान्तरणका लागि अह्म भूमिका खेल्दै शैक्षिक क्षेत्रलाई मोडेल बनाउँदै लिने दिशामा नेतृत्व प्रदान गर्नुपर्दछ ।”

पूर्वगृहमन्त्रीसमेत रहनुभएका उहाँले नेपाली जनताको त्याग र बलिदानबाट एकात्मक राज्य संरचना र व्यवस्थालाई बदलेर नोपलमा नौलो खालको लोकतान्त्रिक प्रणाली स्थापना गरिएको जिकिर गरे । माओवादी केन्द्रका प्रदेश अध्यक्ष राजकुमार शर्माले शैक्षिक क्षेत्र मानव सभ्यताका निम्ति दक्ष जनशक्ति उत्पादनको केन्द्र भएकाले वर्तमान शिक्षा नीतिमा सुधार ल्याउन शिक्षक सङ्गठनले अग्रणी भूमिका खेल्नुपर्नेमा जोड दिए । 

माओवादी केन्द्रका प्रदेश सचिव रामदीप आचार्यले प्रथम औद्योगिककालको शैक्षिक प्रणालीमा आजको शिक्षा प्रणाली चलिरहेको तर्क गर्नुभयो । सचिव आचार्यले भने, “तत्कालीन समयमा कारखानाका निम्ति प्रयोग गरिने शिक्षा आज पनि प्रयोगमा छ ।

ज्ञानको न नवीकरण हुनसक्यो नत रुपान्तरण नै ।” सूचना र प्रविधिको उच्चतम् विकास भएका बेला त्यहीअनुसार शिक्षाको संरचना, शैली र पद्धति बदलिँदै जानुपर्ने उहाँको भनाइ थियो । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको दोस्रो परिषद्मा केन्द्रीय प्रतिनिधि, प्रदेश तथा जिल्लाका पदाधिकारीसहित ३१८ शिक्षकको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस