अन्तर्राष्ट्रिय रेल सञ्जालमा जोडिएला नेपाल ?

पत्रपत्रिकाबाट

शुक्रबार, १४ बैशाख २०७५, ०८ : २३
अन्तर्राष्ट्रिय रेल सञ्जालमा जोडिएला नेपाल ?

काठमाडौँ । मुलुकभित्रै रेलमार्ग निर्माणलाई तीव्रता दिन र बलियो कूटनीतिक पहल गर्न नसके ट्रान्स एसियन रेलवे नेटवर्कको सदस्य भएर पनि ‘अन्तर्राष्ट्रिय रेल सञ्जाल’ मा जोडिनबाट नेपाल वञ्चित हुने देखिएको छ ।

युरोप र एसिया जोड्ने रेल सञ्जालमा गाँसिएर फाइदा लिन नेपालले पूर्वपश्चिम रेलमार्ग निर्माणलाई तीव्रता दिनुपर्ने हुन्छ । आन्तरिक रूपमा मात्रै रेल चलाएर उपलब्धि हासिल गर्न सहज नभएकाले गड्डाचौकी–काँकडभिट्टा रेलमार्गलाई अन्तर्राष्ट्रियस्तरको बनाएर अघि बढाउन रेल विभागले सुझाउँदै आएको छ । अन्तर्राष्ट्रिय सञ्जालमा जोडिएपछि व्यापार सहज हुने भएकाले पनि त्यसभित्र पर्न नेपालले बलियो ‘लबिइङ’ गर्नुपर्ने कूटनीतिक अधिकारीहरू बताउँछन् ।

बंगलादेशबाट भारतको पानीट्यांकी हुँदै काँकडभिट्टा जोड्ने र त्यहाँबाट पूर्वपश्चिम मार्ग हुँदै गड्डाचौकी निकाल्न सकिने अन्तर्राष्ट्रिय रेलमार्गलाई अहिले बंगलादेशबाट कोलकाता पुर्‍याउन अन्तर्राष्ट्रिय लबिइङ भइरहेको अध्ययनरत अधिकारीहरूको दाबी छ । तर नेपालले आफ्नो हितअनुकूल कूटनीतिक कौशल देखाउन सके यो मार्गलाई नेपाल हुँदै पुन: भारत पुर्‍याउन सकिन्छ । नेपाल अन्तर्राष्ट्रिय सञ्जालमा जोडिए उत्तरदक्षिणका छिमेकी स्वत: त्यसमा जोडिन्छन् । नेपालले राम्रोसँग काम गरे सन् २०३० भित्र बनाइसक्ने लक्ष्य रहेको रेल सञ्जालमा गाँसिनसक्ने कूटनीतिज्ञहरूको दाबी छ । १४ हजार ३ सय २० किमिको रेल लिंकमा जोडिएमा छिमेकीसँग मात्र होइन, एकैपटक अन्य एसियाली मुलुक हुँदै युरोपसम्म नेपालको पहुँच पुग्नेछ । अन्तर्राष्ट्रिय रेल सञ्जाल चीनको सेन्जेन तथा सिंगापुरबाट यो क्षेत्र हुँदै इस्तानबुलसम्म जोडिन्छ । नेपालजस्तो पर्यटकीय गन्तव्य मुलुकका लागि यो सञ्जालले निकै महत्त्व राख्छ ।
राष्ट्रसंघीय अवधारणामा रहेको ‘ट्रान्स एसियन नेटवर्क २०११’ लाई नेपालले अध्ययन गर्न आवश्यक रहेको विभागका अधिकारीहरू बताउँछन्, कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस