स्पेनिस ला लिगा : रियल सोसिडाड शीर्ष स्थानमा

एजेन्सी

सोमबार, २२ कार्तिक २०७८, १० : ५५
स्पेनिस ला लिगा : रियल सोसिडाड शीर्ष स्थानमा

एजेन्सी । स्पेनिस ला लिगामा जितको लय जारी राखेको छ । आइतबार राति भएको खेलमा सोसिडाडले ओसासुनालाई उसैको मैदानमा २–० गोलले हरायो । सोसिडाडको जितमा माइकल मेरिनो र एडनान जानुजाजले गोल गरे ।

दुवै गोल दोस्रो हाफमा गरेको सोसिडाडले ७२औं मिनेटमा खाता खोलेको थियो । मेरिनोले पोर्टुको पासमा गोल गर्दै पाहुना टोलीको उत्साह जगाए । १० मिनेटपछि जानुजाजले पेनाल्टीमा गोल गर्दै सोसिडाको अग्रता दोब्बर बनाए । डिबक्स भित्र ओसासुनाका उनइ गार्सियाले फल खेलेपछि सोसिडाडले पेनाल्टीको अवसर पाएको थियो ।

५७ प्रतिशत बल पोसेसन राखेको सोसिडाडले खेलभर नौवटा पोस्ट प्रहार गरेको थियो । यता ६ वटा पोस्ट प्रहार गरेको ओसासुना गोलरहित हार खेप्न बाध्य बन्यो । सोसिडाडका डेभिड सिल्भा ‘म्यान अफ दी म्याच’ बने । जितसँगै सोसिडाड फरि शीर्ष स्थानमा उक्लिएको छ ।

१३ खेलमा आठ जित, चार बराबरी र एक हार खेपेको सोसिडाडको २८ अंक छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको २७ अंक छ । रियलले एक खेल कम खेलेको छ । तेस्रो स्थानमा रहेको सेभियाको पनि २७ अंक छ । सोसिडाडसँग पराजित ओसासुना १९ अंक सहित सातौं स्थानमा छ ।

आइतबार रातिनै भएको खेलमा सेभियाले १० खेलाडीमा समेटिएको रियल बेटिसलाई उसैको मैदानमा २–० गोलले हराउँदै तेस्रो स्थान कब्जा गरेको हो । सेभियाको जितमा मार्कोस अकुनाले ५५औं मिनेटमा गोल गरे । सेभियाले अर्को गोल ८१औं मिनेटमा रियल बेटिसबाट आत्मघाती उपहार पाएको थियो ।

बल बचाउने क्रममा हेक्टोर बेलेरिनको प्रहार आत्मघाती गोलमा परिणत भएको थियो । ४५औं मिनेटमा गुईडो रोड्रीग्वेज दोहोरो पहेँलो (रातो कार्ड) पाउँदै बाहिरिएपछि १० खेलाडीमा समेटिएका बेटिस दबाबमा परेको थियो । सेभियासँगको हारसँगै २१ अंक बनाएको बेटिस पाँचौं स्थानमा छ ।

अर्को खेलमा साविक विजेता एट्लेटिको म्याड्रिड भ्यालेन्सियासँग ३–३ गोलको बराबरीमा रोकिएको छ । भिल्लारियलले गेटाफेलाई १–० गोलले पराजित गरेको छ । मालोर्का र इल्चेले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।

विश्वकै चर्चित लिग मध्येको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ । ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो ।

ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ । त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ । हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ ।
 

प्रतिक्रिया दिनुहोस