गरियो लक्ष्मी पूजा

रासस

विहीबार, १८ कार्तिक २०७८, २२ : १५
गरियो लक्ष्मी पूजा

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइएको छ ।

सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले वास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरेपछि धार्मिक विधिपूर्वक लक्ष्मी पूजा गरिएको हो । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भ¥याङलगायत स्थानमा सरसफाइ गरी दीपावलीसमेत गरेपछि लक्ष्मी घरमा प्रवेश गर्ने विश्वास छ ।

आजको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरिने पूजा कोठा वा ढुकुटीसम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो एवं अबीरले लक्ष्मीको पाइला बनाइ लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइ पूजा गरिने परम्परा छ ।

 दीपावली गरिसकेपछि पूजा कोठामा दीयो, कलश र गणेशसहित थालीमा अष्टदल लेखेर लक्ष्मीको प्रतिमा स्थापना गरेर गरगहना, पैसाको पनि पूजा गरी फलफूल, सेलरोटी र फूलमाला चढाइएको छ । लक्ष्मी पूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणा समेत दिने गरिन्छ । आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।

प्रतिक्रिया दिनुहोस