जनगणनाका लागि कञ्चनपुरमा गणक खटाइँदै

सफल खबर संवाददाता

बुधबार, १७ कार्तिक २०७८, १५ : ०३
जनगणनाका लागि कञ्चनपुरमा गणक खटाइँदै

कञ्जनपुर । राष्ट्रिय जनगणनाका लागि कञ्चनपुरमा गणक खटाउने तयारी अन्तिम चरणमा पुगेको छ।

जिल्ला जनगणना कार्यालय कञ्चनपुरका प्रमुख गोविन्दप्रसाद न्यौपानेका अनुसार गणकलाई चारदिने तालिम प्रदान गरी खटाउने तयारी गरिएको छ। जनगणनाका लागि खटिने गणकलाई आवश्यक पर्ने सबै विषय वस्तुबारे तालिमका क्रममा सिकाइएको कार्यालय प्रमुख न्यौपानेले बताए।

‘गणकका लागि कात्तिक १३ गतेदेखि १६ गतेसम्म तालिम दिएका छौं,’ उनले भने, ‘तालिमपछि निर्धारित समयभित्रै जनगणना हुनेछ।’ जनगणनाको कार्यलाई प्रभावकारी रूपमा सञ्चालन गरी सम्पन्न गर्न नौ स्थानीय तहलाई ध्यानमा राख्दै शुक्लाफाँटा, बेलौरी, पुर्नवास, भीमदत्त र दोधारा चाँदनी नगरपालिकामा अस्थायी कार्यालयसमेत सञ्चालन गरिएको छ।

भीमदत्त नगरपालिकामा रहेको कार्यालयले वेदकोट नगरपालिकासम्म हेर्ने गरी, शुक्लाफाँटामा रहेको कार्यालयले कृष्णपुर नगरपालिकासम्म हेर्ने गरी, बेलौरी नगरपालिकाले लाझाडी गाउँपालिका र बेलडाँडी गाउँपालिकालाई हेर्ने गरी कार्यालय स्थापना गरिएका छन्।

जनगणनाका लागि खोलिएका कार्यालयमै सेन्टर राखेर गणकलाई तालिमको व्यवस्था गरिएको छ। कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म हुने जनगणनाको कार्यका लागि कञ्चनपुरमा ४७७ गणक र ११७ सुपरिवेक्षकलाई खटाउने तयारी भइरहेको छ।

पहिलो चरणमा घरधुरीको संख्या, महिला पुरुष र अन्यको संख्या, वित्तीय पहुँचको अवस्था, कृषिबारे समान्य विवरण संकलन गर्ने र घर नम्बर राख्ने कार्य पूरा गरिएको छ। ‘पहिलो पटक बस्ने घर र खाली घरको गणना गर्नेसमेत हुँदै छ,’ कार्यालय प्रमुख न्यौपानेले भन्नुभयो, ‘पछिल्ला जनगणनामा घर गणना कार्यलाई समेटिएको थिएन। यस पटक घर गणनालाई समेत समावेश गरिएको छ।’ जन्मदार्ताको अवस्थाकाबारे समेत जनगणनामा समावेश गरिएको उनले बताए।

गणकहरूले विस्तृत विवरणसहित जाति, धर्म, संस्कृति, शैक्षिक योग्यता र आर्थिक गतिविधिबारे समेत प्रश्न सोध्ने र विवरण राख्ने कार्य गर्ने बताइएको छ। ‘जनगणनामा कोही पनि नछुटुन् भनेर सावधानीपूर्वक कार्य अगाडि बढाउने योजना अघि सारेका छौं,’ उनले भन, ‘सुरक्षा निकाय र कैदीबन्दीको समेत गणना गर्छौ।’

केन्द्रीय तथ्यांक विभागले हरेक १० वर्षमा राष्ट्रिय जनगणना कार्य गर्दै आएको छ। १९६८ सालदेखि जनगणना कार्य प्रत्येक १० वर्षमा हँुदै आएको छ। यस वर्षको जनगणनाको ‘नारा मेरो गणना, मेरो सहभागिता रहेको छ।

जनगणनाका लागि घर घरमा गएर गणनाको कार्य गर्न देशभरिमा करिब ३९ हजार गणक र ८ हजार सुपरिवेक्षकलाई खटाइने बताइएको छ।

प्रतिक्रिया दिनुहोस