गुणस्तरहीन सामान विक्रेतालाई तह लगाउँदै सहायक प्रजिअ शर्मा, ठाउँको ठाउँ तीन लाख जरिबाना

प्रकाश सिग्देल

सोमबार, १५ कार्तिक २०७८, १९ : १५
गुणस्तरहीन सामान विक्रेतालाई तह लगाउँदै सहायक प्रजिअ शर्मा, ठाउँको ठाउँ तीन लाख जरिबाना

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले अक्रामक रुपमा बजार अनुगमनको कामलाई अगाडि बढाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी शर्माको नेतृत्वमा अहिले हरेक दिनजसो बजार अनुगमनका काम भइराखेका छन् । हरेक दिनजसो बजार अनुगमन गर्ने र कमजोरी गरेको फेला परेमा कैफियत हेरेर १० हजारदेखि ३ लाख नगद रुपैयाँसम्म ठाउँको ठाउँ जरिबाना हुन थालेपछि अहिले उपभोक्ता ठगी गरेर ब्रहमलुट गर्न पल्किएका ब्यापारीहरुको ओठमुख सुक्न थालेको छ ।

यसअघि ८ गते भएको संयुक्त बजार अनुगमनका क्रममा खाद्य वस्तुमा कैफियत गरेको फेला परेका ३ वटा फर्मलाई सामान जफतसहित प्रशासनले जरिबाना गरेको छ । आनन्द मार्गमा रहेको श्री टेड्र्समा लेबल नलगाएको चामल फेला परेपछि ६३ बोरा जफत गरी प्रशासनले १० हजार नगद जरिवाना गरेको छ । आनन्द मार्गकै ओम सत्य साई गल्ला पसलबाट ६ किलो नितेश काजु, २० किलो धिरज काजु र आल्मोन्ड ३६ किलो बरामद गरेको छ  त्यसलाई प्रशासनले १० हजार जरिबाना गरेको छ । त्यस्तै पुतली बजारको रिषु ट्रेड लिंकबाट ११ बोरा मिठाई बरामद गरी ३ लाख रुपैयाँ जरिबाना गरेको छ ।

अनुगमनगर्दा उत्पादन मिति, उपभोग्य मिति उल्लेख नभएका उपभोग्य मिति सकिएका अखाद्य खाद्य वस्तु फेला परेकोले ती पसलहरुलाई केही दिन सिल गरी  प्रमुख जिल्ला अधिकारीसँग छलफल भई ती सामान जफत गरी नष्ट गर्ने र जरिबाना असुल गर्ने निर्णय भए बमोजिम आइतबार सामान जफत गरी सोमबार सबैको रोहवरमा नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताए  ।

बजार अनुगमनका क्रममा शर्मा कडाईका साथ प्रस्तुत हुन थालेपछि खाद्य बस्तुमा चरम लापरबाही गर्ने र बजारमा मनपरी गर्ने व्यवसायीहरुको यतिबेला सातो जान थालेको छ । बरामद भएको ६३ बोरा चामल र काजु भने जनावरका लागि खान योग्य भएकाले बागेश्वरी गौशालामा पठाइएको छ । आफू कुनै दवाव र प्रभावमा नपरी उपभोक्ता हितका लागि कटिवद्ध भएर बजार अनुगमनलाई कडाईका साथ अगाडि बढाउने शर्मा बताउँछन्

शर्माको यही अडानले काम गर्दै गए चितवनको बजारमा ब्यवसायिक शुद्धता बढ्ने र गलत गर्ने ब्यवसायीहरुको मनोबल घटेर गई बजार उपभोक्तामैत्री बन्ने उपभोक्ता अधिकारकर्मीहरु बताउँछन् । सहायक प्रमुख जिल्ला अधिकारीको काम गराइको शैलीले उपभोक्तामा उर्जा थपिएको उपभोक्ता अधिकार संरक्षण मन्च चितवनका उपाध्यक्ष विष्णु भुषालले बताए । शर्माको काम उपभोक्ताले उच्च सम्मान गर्नुपर्ने खालको रहेको र चितवनको बजार व्यवस्थापनमा उहाको यही कार्यशैली निरन्तर आवश्यक रहेको उनी बताउँछन् । प्रशासनले यसअघि चितवनका मेडिकल पसललाई ३ लाख रुपैयाँसमेत जरिबाना गरेको छ ।

चुननारायण श्रेष्ठको टोली शिर निहुराएर फर्कियो

व्यवसायीको बकालत गर्न जिल्ला प्रशासन कार्यालय चितवनमा पुगेको उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठसहितको टोली नाजवाफ भएर फर्किएको छ । टोली डेलिगेशन आउँदा सहायक प्रमुख जिल्ला अधिकारीसहितको टोली जफत भएको मिठाइजन्य परिकारहरु खाल्डो खनेर नष्ट गर्दै थियो ।

लामो प्रतिक्षापछि सहायक प्रमुख जिल्ला अधिकारीसँग उपाध्यक्ष चुननारायण श्रेष्ठको टोलीले छलफल गरेको थियो । उनीहरुले लेवल नभएको जफत गरिएको सामान खान योग्य रहेको भनेर ब्यवसायीको पक्षामा वकालत गरिरहेका थिए । आफनो अडानमा कटिवद्ध सहायक प्रमुख जिल्ला अधिकारीले बजारमा बेथिति हुन नदिने, उपभोक्ता हित बिपरितका कार्य हुन कुनै पनि हालतमा नदिने र म्याद नभएका मुल्य सुची नभएका बस्तुहरु बजारमा जहाँजहाँ छन् ती सबै जफत गर्ने चेतावनी दिए । ब्यवसायीले धेरै बोल्न थालेपछि सहायक प्रमुख जिल्ल अधिकारीले सबै कुरा अध्यक्षसँग भइसकेको छ उतै कुरा गर्नु भनेर कडा रुपमा जवाफ दिएपछि नाजवाफ भएका ब्यवसायीहरु त्यहाँबाट उठेर लुरुलुरु बाहिर निस्किएर बाटो लागे ।

प्रतिक्रिया दिनुहोस