ओसासुनासँग बराबरीमा रोकियो रियल म्याड्रिड

एजेन्सी

विहीबार, ११ कार्तिक २०७८, ०८ : ३२
ओसासुनासँग बराबरीमा रोकियो रियल म्याड्रिड

एजेन्सी । स्पेनिस ला लिगाको उपाधि दौडमा रहेको रियल म्याड्रिड ओसासुनासँग गोलरहित बराबरीमा रोकिएको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा रियलले बल पोसेसनमा पकड जमाएपनि गोल गर्न सकेन ।

३१औं मिनेटमा भिनिसियस जुनियरको शसक्त प्रहारलाई ओसासुनाका गोलरक्षक सर्जियो हेर्रेराले विफल पारेका थिए । ४४औं मिनेटमा इडुआर्डो कामाभिङ्गाको शसक्त हेड प्रहारमा पनि ओसासुनाका गोलरक्षक सर्जियो बाधक बने । ६२औं मिनेटमा कप्तान करिम बेन्जेमाको पोस्ट छेउको शसक्त प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो ।

७५ प्रतिशत बल पोसेसन राखेको रियलले ओसासुनाको डिफेन्स लाइन चिर्न सकेन । खेलभर १७ वटा पोस्ट प्रहार गरेको रियल अन्ततः गोलरहित बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो । डिफेन्सिभ रणनिति अपनाएको पाहुना टोली ओसासुना आफ्नो रणनितिमा सफल बन्यो । ओसासुनाले खेलभर सातवटा फितलो पोस्ट प्रहार गरेको थियो । ओसासुनाका मिडफिल्डर डेभिड गार्सिया ‘म्यान अफ दी म्याच’ भए ।

बराबरीसँगै रियल शीर्षस्थानमा उक्लिएको छ । १० खेलमा ६ जित, तीन बराबर र एक हार खेपेको रियलको २१ अंक छ । ११ खेलबाट १९ अंक बनाएको ओसासुना छैटौं स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस