प्रहरीको बर्दी लगाई  व्यापारीमाथि लुटपाट गर्ने एक पक्राउ

सफल खबर संवाददाता

बुधबार, १० कार्तिक २०७८, २० : २६
प्रहरीको बर्दी लगाई  व्यापारीमाथि लुटपाट गर्ने एक पक्राउ

सल्यान । सल्यान जिल्लाको कपुरकोट गाउँपालिका १ कालापातल जङ्गलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बर्दी लगाई सोमबार व्यापारीबाट लुटपाट गर्ने ४ जनामध्ये १ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

‘लुटपाट गरे लगतै चारै जना भागेका थिए । त्यसपछि लुटिनेहरुले प्रहरीलाइ खबर गरेपछि प्रहरीले उनिहरुलाइ खोज्दै गए । घटना घटेकै राती ४ जनामध्ये एक जना रोल्पा रुन्टिगडी गाउँपालिका –८ गर्पा खोलाबाट पक्राउ परे,’ जिल्ला प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले भने ।

पक्राउ पर्नेमा रोल्पा सुनछहरी गाउँपालिका –७ का ३० वर्षीय तिलक वि.क.रहेका छन् । विकलाई सल्यान जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको डिएसपी थापाको भनाई रहेको छ । लुटपाटमा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

उनिहरुले कालापातलको जङ्गलमा गाडी रोकी कपुरकोटमा तरकारी किन्न आएका सेराज हलुवाईको तीन लाख लुटपाट गरेका थिए ।
‘तरकारी खरिद गर्न आएका ति व्यापारीलाइ पहिले एउटा बाइकमा आएका सशस्त्र र नेपाल प्रहरीको बर्दी लगाएका दुइजनाले चेकजाँच गर्नु छ भनेर रोके । त्यसपछि अर्काे बाइकमा आएका अन्य दुइजना सशस्त्रको बर्दी लगाएकाले खुकुरी देखाएर तीन लाख लुटेर लगे,’ डिएसपी थापाले भने ।

पक्राउ पर्नेवाला नेपाल प्रहरीको बर्दी लगाउने भएको उनले बताए । उक्त बर्दी जनयुद्वको समयको भएको उनको भनाइ छ । नेपाल प्रहरी लगायत अन्य सुरक्षा निकायको बर्दीको दुरुपयोग गरी यस्ता विभिन्न आपराधिक क्रियाकलाप बढेकोले बर्दीको दुरुपयोग भएमा जानकारी भएमा प्रहरी कार्यालयमा सूचना दिन समेत जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस