इजलास छल्दै न्यायाधीशहरु, वकिलहरुले पनि बहस नगर्ने

सफल खबर संवाददाता

बुधबार, १० कार्तिक २०७८, ११ : ०१
इजलास छल्दै न्यायाधीशहरु, वकिलहरुले पनि बहस नगर्ने

काठमाडौँ ।  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बुधबार संवैधानिक इजलाससहितको पेशी तोकेका छन् ।

राजीनामाको दबाबमा आएका प्रधानन्यायाधीश राणाले वरिष्ठताको आधारमा आफूसहितको संवैधानिक इजलास तोकेका छन् । बुधबारका लागि संवैधानिकसहित ११ इजलासमा कुल २७८ पेशी तोकेका छन्। यसअघि प्रधानन्यायाधीश राणाले सोमबार र मंगलबार आफ्नो लागि इजलास तोकेका थिएनन्।

न्यायाधीशहरुले सोमबारदेखि नै अघोषित रुपमा इजलास बहिष्कार गर्दै आएका छन्। बुधबार पनि न्यायाधीशहरु इजलास छल्नका लागि सामूहिक छलफलमा बस्ने तयारी गरेका छन्।

पेशी तोकिए पनि न्यायाधीशहरु इजलासमा नजाने र नेपाल बारले बुधबारदेखि वकिलहरु बहसमा सहभागी नहुने घोषणा गर्दा सेवाग्रहीहरु भने मर्कामा परेका छन्।

न्यायाधीशहरुले मंगलबार राणालाई भेटेर राजीनामाका लागि आग्रह गरेका थिए। तर प्रधानन्यायाधीश राणाले राजीनामा नदिने बताएपछि उनीहरु फेरि छलफलमा जुटेका थिए। जसका कारण इजलास प्रभावित भएको थियो ।