विद्यालय बगरमा परिणत, पठनपाठन ठप्प

रासस

सोमबार, ०८ कार्तिक २०७८, १३ : १५
विद्यालय बगरमा परिणत, पठनपाठन ठप्प

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित नेत्रज्योति मावि (हाँकु विद्यालय) वर्षा र बाढीले बगाएर बगरमा परिणत भएको छ । विद्यालयको भवनदेखि घेराबार, फर्निचर र अन्य सबै बगाएको छ । 

अहिले विद्यालयमा गिट्टी र ढुङ्गा थुप्रिएको छ । कोरोना सङ्क्रमणका कारण लामो समयसम्म विद्यालय बन्द भएर भर्खरै सञ्चालनमा आएको थियो  तर यही कात्तिक १ गतेदेखि परेको निरन्तर वर्षाका कारण  नदीमा आएको बाढीले विद्यालय नै बगाएकाले पठनपाठन ठप्प भएको विद्यालयका विद्यार्थी बताउँछन् ।

विद्यालय असोज ३० गतेदेखि सञ्चालन गरिएकामा  कात्तिक १ गतेको बाढीले सबै  बगायो । उक्त  विद्यालयका प्रधानाध्यापक जाज्वाल्यराज न्यौपानेले भने, “विद्यालय बगर बनेको छ । पठनपाठन सञ्चालन गर्न कठिन छ । बाढीले यहाँका विद्यार्थीको भविष्य खोसेको छ । बगाउन नसकेका केही भवनमा पनि तत्काल कक्षा सञ्चालन गर्न पनि नसकिने अवस्था छ ।

कोठामा बालुवा थुप्रिएको छ । झ्याल, ढोका फुटेका छन् । डेस्क–बेञ्च छैनन् । तत्काल मर्मत गर्न सकेकेमा छ कोठामा विद्यार्थीलाई पढाउन सकिन्छ । विद्यालय बगर बनेपछि विद्यार्थी पढ्नसमेत डराइरहेका छन् । सामान्य वर्षा हुनेबित्तिकै विद्यार्थी र अभिभावकले विद्यार्थी स्कुल पठाउन सक्ने अवस्था रहेन । अहिले विद्यालयमा अध्ययनरत ६९४ विद्यार्थी अलपत्र छन् । 

विद्यालयको ६५० वर्गमिटर घेरबारको कुनै निसाना छैन । विद्यालयलाई नमूना विद्यालयका रुपमा अघि बढाउनका लागि कार्यक्रम सुरु भइसकेको थियो । रु एक करोड ५० लाखमा दुई पक्की भवन निर्माण हुँदै थिए । यो शैक्षिकसत्रदेखि नमूना विद्यालय बनाउने योजना थियो । डिजिटल प्रविधि अपनाएर जिल्लाकै उत्कृष्ट विद्यालय बनाउने गतिमा काम भइरहेको थियो, प्रधानाध्यापक न्यौपानेले भने, “न विद्यालय नमूना बनाउन सकियो न त बाढीबाट बचाउनै सकियो । फेरी सुरुदेखि काम प्रारम्भ गर्नुपर्ने भयो । नमूना विद्यालय बनाउनका लागि  अहिलेसम्म गरिएका सबै मेहनत बालुवामा पानी खन्याए झैँ भयो । कम्पाउण्ड बनिसकेको थियो । प्लाष्टर गरेर विभिन्न आकृतिका चित्र बनाउने र सन्देशमूलक सामग्री राख्न बाँकी थियो । सिसी क्यामराको निगरानीका साथै  पठनपाठन गर्ने, हरेक कक्षमा साउण्ड बक्स राख्ने, प्रोजेक्टरका माध्यमबाट अध्ययन गराउने कार्यक्रम तर्जुमा भइसकेको थियो । 

आगन्तुक पुस्तिका राख्ने र हरेक व्यक्तिलाई विद्यालयमा प्रवेश कार्ड उपलब्ध गराउने, कार्डविहीन व्यक्तिले विद्यालयमा छिर्न नपाउने व्यवस्था हुन लागेको थियो ।’ विद्यालयभित्र बाढी पसेपछि सबै सपना चकनाचुर भएको प्रधानाध्यापक न्यौपानेले बताए ।

विद्यालयलाई पहिलेकै अवस्थामा फर्काउन त सक्छौँ  तर सबैको साथ चाहिन्छ । बाढीले विद्यालयको भवन, घेराबार, खेलकूद मैदान, स्टोर गरेर राखेका डेस्क बेञ्च, नयाँ विद्यालय बनाउन राखिएको फर्निचर, सरिया तीन बण्डल, भवन निर्माणका लागि राखिएको काठ, शौचालय, मञ्च सबै बगाएको छ । बाढीले रु एक करोड ६६ लाख ३५ हजार बराबरको मालसामानमा क्षति पु¥याएको विद्यालय प्रशासनले जनाएको छ ।

बाढीले जिल्लाको तातोपानी– ७ र तिला गाउँपालिकाको सेतीबाडा रहेको विद्यालय पनि डुबाएको छ । बाढीले क्षति पु¥याएको विद्यालयमा प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंले अनुगमन गरेकी छन् । अनुगमनपश्चात् उनले भनिन्, “ विद्यालयलाई पहिलेकै अवस्थामा सञ्चालन गर्न सबै निकायको साथ अनिवार्य रहेको छ । तत्काल विद्यालय मर्मत गरेर भए पनि पठनपाठन सञ्चालन गर्न यहाँका सरोकार निकायले पनि ध्यान दिनुपर्ने भएको छ ।” शान्तिपूर्णरुपमा र भयरहित वातावरणमा पठनपाठनको व्यवस्था मिलाउन यहाँका विद्यार्थीले माग गरेका छन् ।