हमालको राजीनामापछि रिक्त मन्त्रालय लिन सत्तारुढ दलबीच हानथाप

पत्रपत्रिकाबाट

शनिबार, ०६ कार्तिक २०७८, ०७ : ४५
हमालको राजीनामापछि रिक्त मन्त्रालय लिन सत्तारुढ दलबीच हानथाप

काठमाडौँ । प्रधानन्यायधीश चोलेन्द्रशमशेर राणाको कोटाबाट मन्त्री बनेका गजेन्द्र हमालले राजीनामा दिएपछि रिक्त रहेको मन्त्रालय लिन सत्तारुढ दलमा हानथाप चलेको छ ।

स्रोतका अनुसार प्रधानन्यायधीशका लागि छुट्याइएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय आफ्नो दलले पाउनु पर्ने भन्दै सत्तारुढ कांग्रेस, माअ‍ोवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको मुख्य दाबी रहेको स्रोतले बतायो ।

हमालको राजीनामा पछि उक्त मन्त्रालय प्रधानमन्त्री शेरबहादुर देउवासँग छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभाका सांसद संंख्याको अनुपातका आधारमा मन्त्रालयको भागबण्डा गरिएकाले स्वतस् उक्त मन्त्रालय आफ्नो पार्टीले पाउनुपर्ने तर्क अघि सारेका छन् ।

प्रधान्यायधीशलाई मन्त्रिपरिषद्‍मा कोटा छुट्याइएको विषयमा सञ्चारमाध्यम, न्यायक्षेत्र र सामाजिक सञ्जालमा तीव्र आलोचना हुँदा दाहालले हमालको नियुक्ति कांग्रेसको कोटाबाट भएको भन्दै बचाउ गरेका थिए । प्रधानन्यायाधीशका जेठान नाता समेत रहेका हमाललाई प्रधानमन्त्री देउवाले असोज २२ को मन्त्रिपरिषद् विस्तारमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्ति गरेका थिए ।

दाहालले असोज २३ गते चितवन पुगेर कांग्रेसको कोटाबाट मन्त्री भएकाले अनावश्यक चर्चा गर्न आवश्यक नभएको प्रतिक्रिया दिएका थिए । बुधबार बसेको सत्तारुढ दलको बैठकमा दाहालसँगै एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले रिक्त मन्त्रालय आफ्ना पार्टीका लागि दिन प्रधानमन्त्रीसँग आग्रह गरेका थिए ।

‘दुवै पार्टीले रिक्त मन्त्रालय लिन हानाथाप गर्नुभएको छ । माओवादी वा एकीकृत समाजवादीलाई उक्त मन्त्रालय दिँदा प्रधानन्यायधीशलाई मन्त्रीको कोटा छुट्याइएको विषय सार्वजनिक रुपमै पुष्टि हुने भएकाले प्रधानमन्त्रीले कसैलाई नदिई आफैसँगै राख्ने भन्नु भएको छ । अरु केही भन्नु भएको छैन,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘प्रधानमन्त्रीले सम्भवतः कांग्रेसकै कोही नेतालाई मन्त्री बनाउन सक्नु हुन्छ ।’कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस