भाइरल गीत 'मानिके मगे हिते' बलिउड फिल्ममा

एजेन्सी

मंगलबार, ०२ कार्तिक २०७८, १३ : ०७
भाइरल गीत 'मानिके मगे हिते' बलिउड फिल्ममा

काठमाडौं । पछिल्लाे समय 'मानिके मगे हिते' गीत निकै लोकप्रिय भइरहेको छ। झन्डै चार महिनाअघि श्रीलंकाकी गायिका योहानी डिलोका डे सिल्भाले याे गीतको कभर भर्सनलाई दर्शक तथा श्रोतासमक्ष ल्याएकी थिइन् । उनले आफ्नै गीत 'मानिके मगे हिते' लाई नै कभर गीत बनाएर रिलिज गरेकी थिइन् । जुन गीत अहिले निकै भाइरल भइरहेको छ । दुलान एआरएक्सको शब्द रहेको गीतमा सतिशसानले स्वर दिएका थिए । 

योहानीले गाएको यो कभर गीतले अन्तर्राष्ट्रियस्तरमा समेत चर्चा बटुलिरहेको छ । अहिले टिकटकदेखि सामाजिक सञ्जालमा यो गीत निकै छाएको छ । चर्चासँगै यो गीतका नयाँ भर्सन आउने क्रम बढ्दो छ । दर्शक तथा श्रोताले गीतको शब्द नबुझे पनि गीतको मधुरताले गर्दा आकर्षित भइरहेका छन् । योहानी आफ्नो देशसँगै विश्वमै यसै गीतमार्फत आफूलाई चिनाउँदैछिन् । याे गीतलाई बलिउड फिल्म 'थ्यांक गड' मा राखिने भएको छ । 

इन्द्र कुमारको निर्देशनमा बन्ने फिल्ममा याे गीतको हिन्दी भर्सन राखिने छ । हिन्दी भर्सनमा रश्मि विरागले लेख्ने छिन् भने यसलाई तनिश्क बाग्चीले कम्पोज गर्नेछन् । गीतलाई योहानीले नै गाउनेछिन् । इन्द्र कुमार निर्देशित फिल्म 'थ्यांक गड' मा अजय देवगन, सिद्धार्थ मलहोत्रा र राकुल प्रीत सिंहको अभिनय रहनेछ ।

प्रतिक्रिया दिनुहोस