नारायणगढ–बुटवाल सडकखण्ड : धमाधम विद्युत्को पोल हटाईँदै

रासस

बुधबार, २७ असोज २०७८, १२ : १२
नारायणगढ–बुटवाल सडकखण्ड : धमाधम विद्युत्को पोल हटाईँदै

काठमाडौँ ।  नारायणगढ–बुटवल सडक निर्माणले गति लिने भएको छ । विगतमा यहाँका संरचना हटाउन लामो समय लागेकाले प्रगति न्यून देखिए थियो ।  अहिले ती संरचना हटिसकेकाले कामले गति लिने जनाइएको छ ।  

  अहिलेसम्म जम्मा आठ प्रतिशत भौतिक प्रगति रहेको आयोजनामा अबको छ महिनामा ३० प्रतिशत प्रगति हुने अपेक्षा गरिएको छ । काम नियमित हुँदा पनि एक वर्ष मात्रै अवधि बाँकी भएकाले ठेक्का अवधिभित्र सकिने देखिँदैन । अहिलेको कामको गति हेर्दा एक वर्ष अवधि थप्दा ८० देखि ९० प्रतिशतसम्म प्रगति हुने देखिएको बुटवाल–नारायणगढ सडक आयोजनाका प्रमुख रमेशकुमार दृष्टिले जानकारी दिनुभयो । 

    राष्ट्रिय राजमार्गमध्ये बढी सवारी चाप रहेको पूर्वपश्चिम राजमार्गको सो खण्डमा अहिलेसम्म न्यून मात्रै भौतिक प्रगति छ । केही दिन पहिलेसम्म सडकमा विद्युत्को पोल स्थानान्तरण भइरहेको थियो । दसैँलगत्तै त्यसले निरन्तरता पाउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक विस्तार गर्दा सबैभन्दा ठूलो अवरोध नै विद्युत्को पोल हा, त्यो हटाइसकेपछि कामले गति लिनेछ ।”

    पुलको निर्माण सुरु गर्नका लागि त्यहाँ पोल स्थानान्तरण भइरहेको आयोजनाले जनाएको छ । सो खण्डमा खानेपानीको पाइपको अवरोध छैन भने रुख काट्ने ८० प्रतिशत सकिएको आयोजनाले जनाएको छ । साढे तीन वर्ष अवधिमध्ये पहिले यहाँको संरचनाका कारण अवरोध पुगेको थियो भने झण्डै डेढ वर्षदेखि कोभिडका कारण नियमित काम हुन सकिरहेको छैन । अझै पनि कोभिडको सङ्क्रमण हटिनसकेकाले आगामी दिनमा नियमित काम गर्न सकिने हो होइन भन्ने अन्यौल रहेको प्रमुख दृष्टिले बताउनुभयो । 

    उहाँले भन्नुभयो “कोभिडले थप अवरोध नपु¥याएमा अबको दिनमा भौतिक प्रगति बढ्ने देखिएको छ । निर्माण व्यवसयीले अबको छ महिनामा ३० प्रतिशत काम सकाउँछु भनेर प्रतिबद्धता गरेका छन् ।” अहिले निर्माणस्थलमा भइरहेको कामलाई हेर्दा त्यो प्रगति हुनसक्ने देखिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “निर्माणस्थल खाली हुँदै गएकाले अबको दिनमा निर्माणले गति लिनसक्छ ।”

    आयोजनाले अहिलेसम्म विस्तारका लागि सडक भत्काएको छैन । सुरुमा सडकको दायाँबायाँ थप्ने काम भइरहेको प्रमुख दृष्टिले बताउनुभयो । सडक भत्काएर काम गरेको भए सडकको अवस्था अहिलेभन्दा पनि नराम्रो हुने भएकाले नभत्काइएको उहाँले बताउनुभयो । निर्माणस्थलमा रहेका धेरै संरचना हटाइएको छ भने हट्न बाँकीमा पनि काम भइरहेको छ । नेपाल विद्युत् प्राधिकरण, वन विभाग र जिल्ला प्रशासन कार्यालयलगायत सरोकार राख्ने निकायबाट सहयोग र समन्वयमा काम भइरहेको प्रमुख दृष्टिले बताउनुभयो । सो सडकमा निर्माणको काम गर्ने कम्पनी अन्तर्राष्ट्रिय कम्पनी भएकाले उसले प्रतिष्ठाका लागि पनि गर्ने अपेक्षा गरिएको छ । उहाँले भन्नुभयो, “कोभिडबाहेक अरु अवरोध नभएकाले एक वर्षमा पनि प्रगति बढ्ने देखिन्छ ।”

प्रतिक्रिया दिनुहोस