भारतमा नयाँ सङ्क्रमितको सङ्ख्या सात महिना पछिकै कम

रासस

सोमबार, २५ असोज २०७८, १६ : २०
भारतमा नयाँ सङ्क्रमितको सङ्ख्या सात महिना पछिकै कम

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या सात महिना पछिकै सवैभन्दा कम देखिएको छ  ।

सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो एक दिनमा १८ हजार १३२ जना नयाँ सङ्क्रमित थपिएका छन् । 
यो सङ्ख्या २१५ दिन अर्थात सात महिनाभन्दा बढीसमय पछिको सवैभन्दा कम भएको पनि अधिकारीहरुले जनाएका छन् ।  

केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण १९३ जनाको मृत्यु भएको जनाएको छ । योसँगै भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म मृत्यु भएकाको सङ्ख्या चार लाख ५० हजार ७८२ पुगेको छ । महामारीबाट पछिल्लो समयमा सवैभन्दा धेरै प्रभावित हुनेमा केरला प्रदेश नै रहेको छ । केरलामा मात्रै पछिल्लो २४ घण्टामा ८५ जनाको मृत्यु भएको छ भने १० हजार ६९१ जना सङ्क्रमित भएका छन् । 

भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या दुई लाख २७ हजार ३४७ पुगेको छ । यो सङ्ख्या २०९ दिनपछिकै सवैभन्दा कम भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी पछिल्लो एक दिनमा २१ हजार ५६३ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै कुल सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या तीन करोड ३२ लाख ९३ हजार ४७८ पुगेको छ ।(एएनआई)