राप्रपाको महाधिवेशन कार्यतालिका पुन :  हेरफेर

सफल खबर संवाददाता

आइतबार, २४ असोज २०७८, १२ : ११
राप्रपाको महाधिवेशन कार्यतालिका पुन :  हेरफेर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फेरि जिल्ला अधिवेशन गर्ने समय थप गरेको छ । राप्रपाले तोकिएको समयमा जिल्ला अधिवेशन गर्न नसकेपनि फेरि म्याद थप्ने निर्णय गरेको हो । 

पार्टी अध्यक्षहरु डा प्रकाशचन्द्र लोहनी, पशुपति शमशेर राणा र कमल थापाको उपस्थितिमा बसेको केन्द्रीय बिशेष समितिको बैठकले जिल्ला अधिवेशन गर्ने म्याद कार्तिक १४ गतेसम्म थप गर्ने निर्णय गरेको हो । राप्रपाले असोज २० गतेसम्म जिल्ला अधिवेशन गर्ने म्याद पछिल्लो समय थप गरेको थियो । तर सो अवधिमा ५२ जिल्लाको मात्रै अधिवेशन सम्पन्न भएको छ । 

यस्तै बैठकले सक्रिय सदस्यता वितरण तथा डिजिटल इन्ट्रि गर्ने म्याद कार्तिक १० गतेसम्मका लागि थप गर्ने निर्णय पनि गरेको केन्द्रीय सचिवालय प्रमुख भास्कर भद्रा र निमित्त प्रमुख राजेन्द्र गुरुङले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यसैगरी प्रदेश सभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यहरुबाट महाधिवेशन प्रतिनिधिहरुको निर्वाचन कार्तिक ११ देखि १७ गतेसम्म र  ७ वटै प्रदेश कार्य समितिको अधिवेशन गर्न कार्तिक २३ गतेसम्म समय थप गर्ने निर्णप पनि बैठकले गरेको छ । 

प्रदेश २ का साथै भक्तपुर र पाँचथर  जिल्लाको हकमा सक्रिय सदस्यता वितरण तथा डिजिटल इन्ट्री गर्ने म्याद कार्तिक १५ गतेसम्म, प्रदेश सभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यहरुबाट महाधिवेशन प्रतिनिधिहरुको निर्वाचन १७ गतेसम्म र जिल्ला अधिवेशन २०७८ कार्तिक २३ गतेसम्म निर्णय पनि बैठकले गरेको छ । परिमार्जित महाधिवेशन कार्यतालिका कार्तिक १ बाट लागु हुने विज्ञप्तिमा उल्लेख छ । 

राप्रपाको कार्तिक २७, २८, २९ र ३० गते काठमाडौंमा महाधिवेशन तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस