एमालेको अर्को प्रदेश सरकार आज ढल्दै

सफल खबर संवाददाता

आइतबार, २४ असोज २०७८, ०८ : ०९
एमालेको अर्को प्रदेश सरकार आज ढल्दै

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले सरकारमा रहेर एक पछि अर्को प्रतिगमन गर्न थालेपछि उसको नेतृत्वको सरकार केन्द्र देखि प्रदेशसम्म ढलिरहेका छन्। अध्यक्ष ओलीले नै नेतृत्व गरेको केन्द्रीय सरकार मात्र यो होइन, गण्डकी र लुम्बिनी प्रदेश सरकारसम्म ढलिसकेको छ । अब वाँकी दुई प्रदेश सरकारको नेतृत्वमा एमाले छ । बागमती र प्रदेश १ मा एमालेले पार्टी विभाजनबाट नेता –कार्यकर्ता रोक्न पहिले आफैले मुख्यमन्त्री बन्न रोकेका प्रदेश १ मा भीम आचार्य र वाग्ममतीमा अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाएका थिए ।

दुवै प्रदेशमा एमाले नेतृत्वको दुवै सरकार अल्पमतमा छ । एकातिर अल्पमत र अर्कोतिर एमाले विभाजनका कारण दुवै प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने हुन्छ । तर, प्रदेश १ का मुख्यमन्त्रीले दसैँ मनाएरमात्र विश्वासको मत लिने तयारी गरेपछि उनको सरकार अब करिव एक साता लम्बिएको छ । तर बागमती प्रदेशको एमाले नेतृत्वको सरकार आज ढल्दैछ । प्रदेश सभामा विश्वासको मत लिन नसक्ने मुख्यमन्त्री स्वतः पदमुक्त हुने भएकोले बगमती मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य आजैबाट पदमुक्त हँदैछन् । प्रदेश सभाको अंकगणित अनुसार उनले बहुमत पुराउन सक्ने अवस्था छैन।

बागमती प्रदेशसभामा एमालेका १३ जना प्रदेशसभा सदस्यले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) रोजेपछि शाक्य नेतृत्वको सरकार अल्पमतमा थियो । आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाक्ले विश्वासको मत लिन लागेकी हुन्। बागमती प्रदेशमा कुल ११० जना सांसदमध्ये एक सिट रिक्त छ। कोरोनाका कारण दोलखाबाट निर्वाचित प्रदेशसभा सदस्य पशुपति चौलागाईको निधनपछि एक सिट खाली छ । हाल बागमती प्रदेशसभामा १०९ जना सांसद कायम छन्।

बहुमतका लागि कम्तीमा पनि ५५ जना सांसद आवश्यक हुन्छ। प्रदेशसभामा एमालेका सभामुखसहित  ४३ जनामात्रै सांसद छन्। त्यसैले मुख्यमन्त्री शाक्यले प्रदेशसभाबाट विश्वासको मत पाउने अवस्था छैन। शाक्यले जतिसुकै गरेपनि त्यहाँ मुख्यमन्त्रीको पद जोगाउन सक्ने अवस्था छैन । हुन त शाक्य यस अगाडी माधव नेपालसँगै नजिक थिइन् । उनले माधव नेपाल र केपी ओली दुवैको सहमतिमा आफू मुख्यमन्त्री बनेको दावी मुख्यमन्त्री भएकै बेला गरेकी थिइन् । आफनो विगतको राजनीतिक आवद्धता, राजनीतिक जीवन देखाएर उनले इमोशनल ब्याल्कमेलिड गरेर सरकार जोगाउने प्रयत्न गरेकी थिइन् ।

तर, राजनीति हो, को व्यक्ति भनेर हेर्ने सस्कार हँदैन । पार्टीको लाइनले सरकारलाई विश्वासको मत दिने नदिने तय हुन्छ । यो प्रदेशमा मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्रीका आकांक्षी छन् । हुन त कांंग्रेसका इन्द्र बानियाँले पनि मुख्यमन्त्रीको आकांक्षा राखेका थिए । तर, सत्ता गठबन्धन दलको केन्द्रमा भएको सहमति अनुसार दुवै प्रदेशमा एमालेको सरकार ढालेर नेकपा एकीकृत समाजवादीको नेतृत्वमा सरकार बनाउने सहमति गरेका छन् । सोही कारण पनि आजै ढल्ने एमालेको बागमती प्रदेश सरकारमा अब राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने छन् । २ भदौमा शाक्य मुख्यमन्त्री नियुक्त भएकी थिइन्।