दसैँका लागि तनहुँमा तीन करोडको खसीबोका बिक्री

रासस

शनिबार, २३ असोज २०७८, १६ : ०६
दसैँका लागि तनहुँमा तीन करोडको खसीबोका बिक्री

दमौली । दसैँका लागि तनहुँबाट करिब रु तीन करोड मूल्य बराबरको खसीबोका बिक्री भएको छ । जिल्लाका विभिन्न सहकारीमार्फत् दुई हप्ताको अवधिमा रु दुई करोड ८२ लाख ३६ हजार ७९१ मूल्य बराबरको खसीबोका बिक्री भएका हुन् । 

हेफर नेपालको साझेदारीमा नेपाल एकीकृत ग्रामीण विकास केन्द्र तनहुँले सञ्चालन गरेको ‘पशुबस्तुको मूल्यशृङ्खलामा आधारित साना किसानको संस्था सवलीकरण परियोजना’ अन्तर्गत १० वटा सहकारीले उक्त मूल्य बराबरको खसीबोका बिक्री गरेका हुन् । तनहुँका आठ र लमजुङका दुई गरी १० सहकारीमा आबद्ध कृषकले सहकारीको बजारीकरण कार्यक्रमबाट खसीबोका बिक्री गरेका छन् । 

दुई हप्ताको अवधिमा एक हजार ८१७ खसी बिक्री भएका छन् । ती सहकारीले रु दुई करोड ७९ लाख ८९ हजार २४५ मा कृषकसँग खसीबोका खरिद गरी रु दुई करोड ८२ लाख ३६ हजार ७९१ मा बिक्री गरेका छन् । 

घिरिङ गाउँपालिका–२ भोरकोटस्थित घिरिङसुन्धारा सामाजिक उद्यमी महिला सहकारी संस्थाले रु २० लाख ६५ हजार चार सय ५९ को खसी बिक्री गरेको अध्यक्ष शारदा आलेले जानकारी दिए । सहकारीमार्फत् १५२ खसी बिक्री भएका छन् ।  घिरिङ गाउँपालिका–५ बेलभञ्ज्याङस्थित भगवतीपुर सामाजिक उद्यमी महिला सहकारीमार्फत् रु ४३ लाख ९५ हजार ३०० को खसी बिक्री भएको छ । सहकारीका अध्यक्ष नानुमाया गैह्रेले ३०९ वटा खसी बिक्री भएको जानकारी दिए। 

घिरिङ गाउँपालिका–४ माझकोटस्थित माझकोट महिला विकास बहुउद्देश्यीय सहकारी संस्थामार्फत रु ५० लाख ३९ हजार ६२४ को खसी बिक्री भएको अध्यक्ष सङ्गीता रानाले बताए । उक्त सहकारीमार्फत ३७२ खसी बिक्री भएको छ । भिमाद नगरपालिका–२ स्थित अरुणोदय सामाजिक उद्यमी महिला सहकारीमार्फत रु आठ लाख ७९ हजार ३९० को खसी बिक्री भएको छ । उक्त सहकारीमार्फत ५६ खसी बिक्री भएको अध्यक्ष सीताकुमारी तिमिल्सिनाले बताए। भिमाद नगरपालिका–९ स्थित अतिप्रिय सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत रु ६३ लाख एक हजार ६४९ को खसी बिक्री भएको अध्यक्ष देवी मुक्तान आलेले बताए । सहकारीमार्फत ३२५ खसी बिक्री भएको छ । 

शुक्लागण्डकी नगरपालिका–१ स्थित दिदीबहिनी कृषि सहकारी संस्थामार्फत रु पाँच लाख चार हजार ४९५ को खसी बिक्री भएको छ । उक्त सहकारीमार्फत ३६ खसी बिक्री भएको अध्यक्ष नेत्रकुमारी वंशीले बताए । व्यास नगरपालिका–८ स्थित शुभदीप सामाजिक उद्यमी महिला सहकारीमार्फत रु २२ लाख ९४ हजार १४६ को खसी बिक्री भएको छ । सहकारीका व्यवस्थापक संगीता पौडेलले सहकारीमार्फत १४५ खसी बिक्री भएको जानकारी दिए । व्यास नगरपालिका–१२ स्थित आधारशीला सामाजिक महिला उद्यमी सहकारीमार्फत रु सात लाख ५८ हजार २१० को खसी बिक्री भएको छ । सहकारी व्यवस्थापक नवीन सुर्खालीका अनुसार सहकारीबाट ५० वटा खसी बिक्री भएको छ । 

सप्तधारा सामाजिक उद्यमी महिला सहकारीमार्फत रु ३७ लाख ४२ हजार २९० को खसी बिक्री भएको छ । सहकारीका व्यवस्थापक सरिता थापाका अनुसार सहकारीबाट २४० खसी बिक्री भएको छ । सुन्दरबजार नगरपालिका–१ स्थित भागिरथी सामाजिक उद्यमी महिला सहकारीमार्फत रु २२ लाख ५५ हजार ५९८ को खसी बिक्री भएको छ । उक्त सहकारीबाट १३२ खसी बिक्री भएको अध्यक्ष निर्मला कोइरालाले जानकारी दिए । 

सहकारीले बजारीकरणमा सहयोग पु¥याएपछि बाख्रापालक कृषक पनि खुसी भएका छन् । बाख्रापालनबाट घरखर्च चलाउँदै कृषकलाई गाउँघरमै खसी बिक्री गर्ने व्यवस्था भएपछि सहज पनि भएको छ । 

हेफर इन्टरनेशनल नेपाल र नेपाल एकीकृत ग्रामीण विकास केन्द्रको साझेदारीमा ‘पशुवस्तुको मूल्यशृङ्खलामा आधारित साना किसानको सस्था सवलीकरण परियोजना’ मार्फत् गठन भएका सहकारीले गाउँमै खसी बिक्रीको व्यवस्था मिलाएर कृषकलाई सहयोग पु¥याइरहेको ग्रामीण विकास केन्द्रका कार्यक्रम संयोजक प्रेमप्रसाद पौडेलले जानकारी दिए । “दसैँतिहारलगायत अन्य बेला पनि गाउँबाटै खसी बिक्री गर्ने व्यवस्था मिलाइएको छ”, पौडेलले भने, “यसले गर्दा कृषकलाई बजारको खोजी गर्दै हिँड्नुपर्ने बाध्यता हटेको छ ।”

बजारको समस्या नभएपछि गाउँमा बाख्रापालन गर्ने कृषकको सङ्ख्या बढेको र बाख्रापालनबाटै कृषक आत्मनिर्भर बन्न सफल भएको भिमाद नगरपालिका–९ का बाख्रापालक कृषक शिवकुमार आलेले जानकारी दिए । 

बाख्रापालक कृषकले पशु आहारा व्यवस्थापनका लागि उन्नत जातका घाँस नर्सरी स्थापना गरेका छन् । बाख्रालाई खुवाउनका लागि सहकारी संस्थाले नै सुधारिएको दाना उत्पादन गरेर सदस्यलाई बिक्री गर्ने व्यवस्था मिलाएको छ भने सुक्ष्म पोषकतत्वका लागि खनिज ढिक्काको व्यवस्था पनि सहकारीले नै मिलाउने गरेको छ । 

हेफरको साझेदारीमा नेपाल एकीकृत ग्रामीण विकास केन्द्रले सञ्चालन गरेको परियोजनामा चार हजारभन्दा बढी कृषक आबद्ध छन् । परियोजनामार्फत बाख्रापालक कृषकलाई पशु स्वास्थ्य शिविर, घाँसको बीउ बेर्ना वितरण, तालीम र बजारीकरणमा सहयोग पु¥याउँदै आएको छ ।